बुटवल,असाेज २३ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको मासिक रासन भत्ता १५ प्रतिशतले बृद्धि भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको पहलमा लामो समयदेखि रोकिएको प्रहरी र सशस्त्रको रासनभत्ता बृद्धि भएको हो ।
रासन भत्ता वृद्धि भएपछि प्रहरीलाई विजयादशमी र दिपावलीका लागि राहत भएको छ उनीहरुले सरकारलाइ धन्यबाद दिएका छन् ।
शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेपछि गृहमन्त्रीको पहलमा अर्थमन्त्री जनार्दन शर्माले रासन भत्ता वृद्धिसम्बन्धी फाइल गत सोमबार सदर गरेका हुन् । अघिल्लो सरकारको बेलामा रासन बढाउन सिफारिस भए पनि सदर भएको थिएन ।
फाइल सदर भएपछि बढेको रासन सुविधा गत साउन १ देखि लागू भएको छ । पूर्ववर्ती सरकारले अध्यादेशबाट ल्याएको बजेटमै रासन वृद्धि गर्ने व्वव्था गरिएको थियो । तर बजेट अध्यादेश कार्यान्वय नहुँदा बढेको भत्ता प्रहरी र सशस्त्रले पाएका थिएनन् ।
नयाँ सरकार गठनछि प्रतिस्थापन विधेयक मार्फत् ल्याइएको बजेटमा उल्लेखित रासन वृद्धिको व्यवस्था अनुसार अर्थमन्त्री शर्माले फाइल सदर गरेर कार्यान्वयनमा ल्याएका हुन् । जिल्ला दररेट निर्धारण समितिको सिफारिसका आधारमा अर्थ मन्त्रालयले हिमाली, पहाडी, तराई र उपत्यकाका जिल्लाको महंगी र सुगमरदुर्गम हेरेर रासनबापतको रकम विनियोजन गर्दैआएको छ ।
प्रहरीमा करिब ८० हजार दरबन्दी भए पनि करिब ७० हजार र सशस्त्रमा करिब ३७ हजार सुरक्षाकर्मी कार्यरत छन् । उनीहरूलाई नगदमै रासन भत्ता दिइन्छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)