काठमाडौं,असोज १४-
रोजगार अनुमति प्रणाली [ईपीएस]मार्फत सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने भएको छ ।
नियमित तालिकाअनुसार भाषा र सीप परीक्षा सम्पन्न भएर कोरिया जाने प्रक्रिया हुनुपर्नेमा कोभिड–१९ का कारण पछि सरेको हो ।वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल परीक्षा नभए पनि आउँदो पुस र माघ महिनामा परीक्षा गर्नेगरी तयारी भइरहेको जानकारी दिए ।
उनले सन् २०२० का लागि दक्षिण कोरिया जान ९० हजार आवेदक परीक्षाको तयारी गरेर बसेकाले नियमित तालिकाभन्दा सातरआठ महिना ढिला भए पनि परीक्षा हुने जानकारी दिए ।
उनले कोरियाको मानव संसाधन विभाग एचआरडीले कोरोनाको जोखिम अझै कायम रहेकाले कोरिया भाषा परीक्षा अझै तीनरचार महिना धकेलिन सक्ने सङ्केत गरेको बताए । उनले भने, “एचआरडीसँग हामी सम्पर्कमै छौँ । सहज हुनेबित्तिकै परीक्षा हुन्छ तर तीनरचार महिनायता सहज होलाजस्तो पनि देखिँदैन । ”
भाषा परीक्षा नगर्ने बारेमा अहिलेसम्म कोरियाको ईपीएस हेर्ने एचआरडीले कुनै जानकारी नदिएकाले परीक्षा हुन्छ तर ढिला भने हुने भयो, उनले थपे । सन् २००८ देखि सुरु भएको ईपीएस भाषा परीक्षा यसअघि सन् २०१२ मा पनि भएको थिएन ।
-गोरखापत्रबाट
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)