बुटवल, असोज ९ ।
नेपाली काग्रेसको १४ औं महाधिवेशन अन्तरगत वडा अधिवेशन सकिएका जिल्लामा आजपालिका अधिवेशन शुरू भएको छ । नेपाली काँग्रेसको महाधिवेशन कार्यतालिका अनुसार गत भदौ १८ गते वडा अधिवेशन भएको रुपन्देही जिल्लाका १६ स्थानीय तहमा आज बिहान ८ बजेदेखि पालिका अधिवेशन शुरू भएको हाे ।
पार्टीको केन्द्रमा देखिएको दुई धार जिल्ला तथा पालिकामा पनि प्रष्टसंग देखिएको छ । नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले १५५ वडामध्ये ९० प्रतिशत वडामा सर्वसम्मत भएको र पालिकामा पनि सकेसम्म सर्वसम्मत गराउन नेतृत्व लागिपरेको जानकारी गराए ।
पार्टीको केन्द्रमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा दुई धार भएजस्तै पालिका अधिवेशनमा पनि दुई धार देखिएको हो । रुपन्देहीमा एक उपमहानगरपालिका र ५ वटा नगरपालिका तथा १० वटा गाउँपालिका गरि १६ स्थानीय तह छन् ।
त्यसमध्ये अधिकांश स्थानमा सभापति देउवा र वरिष्ठ नेता पौडेलले नेतृत्व गरेको देउवा ईतर समुहबाट छुट्टा छुट्टै उम्मेदवारी घोषणा भएको छ । बुटवल उपमहानगरपालिकामा पार्टीको नेतृत्व लिन पौडेल समुहबाट बर्तनमान सभापति खेलराज पाण्डेय र देउवा समुहबाट रीता केसीले उम्मेदवारी घोषणा गरेकी छन् ।
गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर तिलोत्तमा नगरपालिकामा तीन जनाको दावेदारी देखिएको छ । त्यस नगरपालिकामा देउवा समुहबाट हरिलाल पाण्डे र पौडेल समुहबाट नारायण न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् । सिद्धार्थनगर नगरपालिका (भैरहवा)मा सभापति देउवा समुहबाट कोशिष खड्का र पौडेल समुहबाट सञ्जिवराज रेग्मीले उम्मेदवारी घोषणा गरि चुनावी मैदानमा छन् ।
त्यस्तै सैनामैना नगरपालिकामा पौडेल समुहबाट कृष्ण पोखरेल र देउवा समुहबाट रणबहादुर खनालले उम्मेदवारी घोषणा गरेका छन् । देवदह नगरपालिकामा पौडेल समुहबाट गुणाखर भुर्तेल र देउवा समुहबाट झविन्द्र पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिकामा भने यस अगाडिकै सभापति मोह्मद सहित खाँको एकल उम्मेदवारी देखिएको छ । १० गाउँपालिका रहेको रुपन्देही जिल्लाको ओमसतीया, गैडहवा, कञ्चन, मर्चवारी, सम्मरीमाई र कोटहीमाईमा सर्वसम्मत बनाउने प्रयास भएको छ ।
त्यस्तै सियारी शुद्धोधन, मायादेवी र रोहिणीमा भने सभापति देउवा र वरिष्ठ नेता पौडेल समुहबाट उम्मेदवारी घोषणा भएको छ ।
यी समाचार पनि हेराैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)