बुटवल,असाेज ६ ।
बुटवल बसपार्कमा १ महिने नि:शुल्क स्वास्थ्य शिबिर शुरु भएको छ । लुम्बिनी बस टर्मिनल (प्रतिबिम्ब निर्माण सेवा) को आयोजनामा शुरु भएको शिविरको लुम्बिनी प्रदेशका उद्योग , वाणिज्य तथा आपुर्ति मन्त्री अजय शाहीले उद्घाटन गरे। कार्तिक ६ गतेसम्म संचालन हुने शिबिरमा आँखा चेकजाँच, सुगर रोगको जाँच, ब्लड प्रेसरको जाँच हुने छ ।
साे अवसरमा बोल्दै मन्त्री शाहीले शिविरले गरिब तथा दुःखीलाई निकै सहयोग पुग्ने बताए । उनले आफू यी तिनवटै राेगबाट पिडित रहेको भन्दै प्रदेश सरकारबाट अहिलेसम्म स्वास्थ्य उपचारका लागि एक पैसा पनि नलिएको र आगामी दिनमा पनि नलिने घाेषणा गरे । उनले समाज सेवा गर्ने भाव सबैमा आएमा समाज परिवर्तन हुने बताए ।
कार्यक्रममा बोल्दै अभियान्ता तथा बस टर्मिनल परिवारका अध्यक्ष हरि क्षेत्रीले यो शिविर गरिब तथा बिपन्नका लागि लाभदायक हुने बताए । उनले अति विपन्न वर्गलाई मोतिबिन्दु लागेको र उपचार खर्च अपुग भए आवश्यकता अनुसार निशुल्क उपचार समेत गरिने जानकारी दिए ।
साे अवसरमा लायन्स क्लवका ३२५ बि २ का स्टाटेजिक चिफ अर्जुनमान सैजू,पुरुषाेतमभक्त प्रधानाङ्ग लगायतले बाेल्दै शिबिरबाट लाभ लिन सबैलाइ आग्रह गरे । लायन्स र लियो क्लबहरुको सहआयोजना तथा बुटवल आँखा अस्पतालको मुख्य सहयोगमा शिविर शुरु गरिएको हो।
शिविरलाई लायन्स क्लब अफ बुटवल मुक्तिनाथ,लायन्स क्लब अफ बुटवल क्यापिटल, लायन्स क्लब अफ बुटवल मणिमुकुन्द, लायन्स क्लब अफ बुटवल सिटि,लायन्स क्लब अफ सैनामैना सालझण्डी, लियो क्लब अफ बुटवल मणिमुकुन्द युथ, लियो क्लब अफ बुटवल गोल्डेन जुब्ली र लियो क्लब अफ बुटवल मणिमुकुन्दले सहयोग गरेका छन।
कार्यक्रममा लायन्स र लियो क्लवका पदाधिकारीहरूको सहभागिता रहको थियो। 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)