बुटवल,असाेज ४ ।
बुटवल उपमहानगरपालिकाले नगर प्रमुख शिवराज सुवेदीमाथि हातपात गर्ने काम निन्दनीय भएको जनाएको छ । सोमबार विहान मेयर सुवेदीसहितको टोली ज्योतिनगर पुगेको थियो ।
त्यस क्रममा स्थानीय गणेश पंगेनीले मेयर सुवेदीमाथि आक्रमण भएको हाे । बुटवल उपमहानगरपालिकाले पत्रकार सम्मेलन गर्दै नगर प्रमुखमाथि भएको उक्त घटनामा संलग्न र उनलाई उक्साउने उपर छानबिन गरी यथाशीघ्र कारवाही गर्न माग गरेको हाे ।
प्रवक्ता रामप्रसाद रेग्मीले जारी गरेको विज्ञप्तिमा सोमबार विहान देखि परेको मुसलधारे वर्षाका कारण थप भूस्खलन भई क्षतिको खबर प्राप्त भएपछि मेयर सुवेदी, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतलगायतका प्राविधिक टोलीसहित पहिरो स्थलमा निरीक्षण, राहत, उद्दार र व्यवस्थापनका लागि पुगेको उल्लेख गरिएको छ ।
त्यही बेला अराजक व्यक्तिहरुले नियोजित रुपमा सुरक्षा निकायको उपस्थितिमा प्रमुखमाथि आक्रमणको प्रयास हुनु दुखद, निन्दनीय र खेदजनक भएको विज्ञप्तिमा जनाइएको छ । ज्योतिनगरको प्रकोपको नियन्त्रण र व्यवस्थापन कार्य उपमहानगरपालिकाको क्षमताले मात्र हुन नसक्ने पनि प्रवक्ता रेग्मीले बताएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)