बुटवल,असाेज ११-
बुटवल-पाल्पा सडकखण्ड अन्तर्गत दर्जनभन्दा बढी स्थानमा शुक्रबार राति वर्षासँगै खसेको पहिरोले तीन दिनदेखि सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।
पहिरो हटाएर सडक सुचारु गर्ने प्रयास जारी भएपनि बिच सडकमा अलपत्र यात्रुलाई यतिखेर खान बस्नका लागि समस्या परेको छ । यात्रुहरु लामो समयसम्म एकैस्थानमा भीडभाड गरेर बसेकै कारण कोरोना भाइरस र अन्य रोगको संक्रमणको जोखिम समेत बढेको उनीहरु बताउँछन ।
राजमार्गमा पर्ने तिनाउ गाउँपालिका वडा नं. ३ को कालिमाटी, कदमबास, सिद्धबाबा, नागमन्दिर, पैठेडाँडा, भूतखोला, सिसुवा, झुम्सा, पानी मिल लगायतका स्थानमा ढुंगासहितको पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पहिरोले आधा दर्जनबढी घरहरु उच्च जोखिममा परेका छन् ।
सडक डिभिजन पाल्पाको सहयोगमा पहिरो पन्छाउने कार्य भएपनि पहिरो धेरै स्थानमा गएको र ठूलाठूला पहिरो खसेको हुँदा सडक खुलाउन आज पनि दिनभर लाग्नसक्ने प्रहरीले जनाएको छ ।
सवारी आवागमन हुन नसकेपछि अत्यावश्यक काम परेका यात्रुलाई दुई पाँग्रे सवारीमार्फत धकेलेरै वारपार गराउन युवाहरु जुटेका छन ।
३ हजारभन्दा बढी सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)