बुटवल,भदौ २३।
हिन्दु नेपाली महिलाले मनाउने मुख्य चाड तीज अन्तर्गत आज दरखाने दिन । विभिन्न मीठा परिकारका साथ दर खाइदैछ । दुःख भुलाउन भोलीपल्ट बस्ने हरितालिका तीजको अवसरमा महिला दिदी बहिनीलाई दर खुवाउने गरिन्छ ।दर खने दिनदेखि हरितालिका तीज सुरु हुन्छ ।
टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्तकहाँ खिर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् ।दर खाएको भोलीपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक भएको खानेकुरा खाने चलन रहेको छ ।
हरितालिका तीजका बेला पानीसमेत नखाई ब्रत बस्ने र धेरै नाचगान गरिने हुनाले शक्ति आवश्यक हुन्छ ।दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्य रातमा दर खाने गरिन्छ ।
पहिलेका दिनमा हरितालिका दिनको् एक दिनमात्र दरखाने परम्परा रहेको थियो भने आजभोली राजधानी तथा अन्य क्षेत्रमा एक महिना अघिदेखि नै दर खाने प्रचलन सुरु भएको छ ।
परापुर्वक कालमा देवी पार्वतीले शिवलाई स्वामी पाउँ भनि निराहार ब्रत बसेको र सोही उनको कामना पुरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहितहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै ब्रत बस्ने चलन रहेको छ ।
कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायम रहेका कारण धेरै महिलाले सजगताका साथ तीज मनाउनुपर्ने अवस्था छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)