काठमाडाै, भदौ २१ ।
सत्तारुढ दल माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले सोमबार गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला जलाएको छ । सोमबार दिउँसो अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा राजधानीको मीनभवनमा भेला भएका विद्यार्थीहरूले गृहमन्त्रीको पुत्ला जलाएका हुन् ।
सो क्रममा गृह मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्ति पनि जलाइएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकोमा गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएपछि अनेरास्ववियू आक्रोशित बनेको हो ।
दार्चुला घटना र भारतीय हस्तक्षेपप्रति मौन सरकार मोदीको पुत्ला जलाउँदा चाहिँ कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको भन्दै पराजुलीले आक्रोश पोखे ।
सो क्रममा विद्यार्थीहरूले एमसीसीको समेत विरोध गरेका छन् । ‘एमसीसी मुर्दावाद’ लेखिएको प्लेकार्डसहित भेला भएका उनीहरूले सरकार र गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)