बुटवल,भदौ १३ ।
बागमती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई हटाएर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी का नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने विपक्षी गठबन्धनले तयारी थालेको छ।
डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य पार्टी विभाजनमा नलाग्ने भन्दै मुख्यमन्त्री बनेकी थिइन्।
एमालेको एकल बहुमत रहेको बागमती प्रदेशसभामा लामो समय नेपालको साथमा रहेकी शाक्यले मुख्यमन्त्री पदका लागि ओली पक्षमा लागेको भन्दै आलोचना भइरहेको छ। पार्टी विभाजनमा साथ नदिएकाले नेपाल शाक्यसँग रुष्ट बनेका छन्।
मुख्यमन्त्री पदसँग आफ्नो विचार साटेको आरोप लगाउँदै उनीहरुले नयाँ पार्टीमा सनाखत गरेपछि शाक्य अल्पमतमा पर्ने बताएका छन् । ‘हामीसँग रहेकी शाक्य पार्टी विधि विधानविपरती चल्ने ओलीको मतियार हुन जानुभयो’, नेपाल निकट एक सांसदले भने, ‘मुख्यमन्त्री पदसँग आफ्नो विचारै साट्नेलाई आगामी दिनमा कसरी समर्थन गर्नु ?’
ती सांसदका अनुसार एकीकृत समाजवादीमा खुलेपछि गठबन्धन बनाएर शाक्यलाई हटाउने तयारी भइरहेको छ। बागमती प्रदेशसभामा १०९ जना सांसदमध्ये एमालेको एकल बहुमत अर्थात् ५६ जना छन्।
एमाले विभाजनबाट बनेको एकीकृत समाजवादीमा कम्तीमा १२ जना प्रवेश गर्ने तयारी भएको बुझिएको छ। ‘एमालेका हामी नेपालनिकट कम्तीमा पनि १२ जना सांसद नयाँ पार्टीमा जान्छौं।’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)