बुटवल,भदौ १० ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुने औपचारिक घोषणा गरेका छन् ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले गठबन्धनको सरकारमा छिट्टै सहभागी हुने बताएका हुन् । त्यस्तै उनले आफ्नो पार्टीले नेपाल कम्युनिस्ट पार्टी नछोड्ने पनि बताए ।
‘हामी कम्युनिस्ट पार्टी छोड्दैनौ, कम्युनिस्ट पार्टीले मात्रै जनताको समस्या सम्बोधन गर्छ’ नेता नेपालको भनाइ छ । उनले नेपाल कृषि प्रधान देशका भएकाले आफ्नो पार्टीले कृषिलाई नेपाली अर्थतन्त्रको जग बनाउने दावी गरे ।
‘हामी अवश्य पनि किसानलाई जग्गाको मालिक बनाउनेछौ’ उनले सुकुम्वासी समस्या समाधान गर्ने भन्दै शिक्षा, स्वास्थ्य, रोजगारी र शिक्षा लगायतका सात विषयलाई महत्व दिने बताए ।
भौतिक पूर्वाधारको विकास गर्दा हावादारी योजना अघि नसार्ने भन्दै ओलीले अघि सारेका पानी जहाज र रेलका सपना नबाँड्ने तर गर्नसक्ने कामहरु गर्ने बताए । नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी भासमा भासिएकाले नयाँ पार्टी खोल्नु परेको प्रस्टीकरण दिएका छन् ।
नेपालले ओलीले नेकपा एमालेलाई दक्षिणपन्थी भासमा फसाउँदै लगेको, मार्क्सवादी मूल्य मान्यतालाई तिलाञ्जली दिएको तथा पार्टीका क्रान्तिकारीहरुलाई निष्कासन गर्दै गएपछि बाध्यताबस नयाँ पार्टी गठन गरेको बताएका हुन् ।
‘नयाँ पार्टी खोल्नु हाम्रो बाध्यता हो । केपी ओलीले पार्टीलाई दक्षिणपन्थी भासमा पारेपछि, सवै खालका मार्क्सवादी मूल्य मान्यतालाई छोडेपछि र क्रान्तिकारीलाई पार्टीबाट निष्कासन गरेपछि त्यसका विरुद्ध विद्रोह गर्ने बाहेक विकल्प भएन’ नेता नेपालले भने, ‘पार्टी शिथिल मात्रै होइन, मृत प्रायः भयो ।’ यो सबै अवस्था देखेपछि हामी नयाँ ढंगले जाने संकल्प गरेको बताए ।
नेपाल र विश्वको इतिहासमा समेत दक्षिणपन्थीहरुको ज्यादतीबाट विद्रोह गर्ने चलन रहेको भन्दै आफुहरुले पनि त्यसै गरेको बताए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)