Logo बिहिवार, आश्विन १ गते २०८३
images

एमाले तिलोत्तमाद्वारा विधान मस्यौदामाथि सुझाव संकलन

एमाले तिलोत्तमाद्वारा विधान मस्यौदामाथि सुझाव संकलन

  • 3.4K
    SHARES

  • एमाले तिलोत्तमाद्वारा विधान मस्यौदामाथि सुझाव संकलन

    बुटवल,भदौ ६ ।  

    नेकपा एमाले तिलोत्तमा नगर कमिटीले पार्टीको प्रस्तावित विधान मस्यौदामाथि कार्यकर्ताहरुको सुझाव संकलन गरेको छ ।

    शनिबार एक कार्यक्रमका बीच एमाले तिलोत्तमा नगर कमिटीले कार्यकर्तामाझ सुझाव संकलन गरेको हो । अहिले जिल्ला जिल्लाबाट प्रस्तावित विधान मस्यौदामाथि सुझाव लिने क्रम चलिरहेकाले नगर कमिटीले सुझाव लिएको अध्यक्ष मोहन चापागाईंले जानकारी दिए ।

    कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज दधिराम न्यौपानेले अव पुरानो ढाँचाबाट पार्टी व्यवस्थित ढंगले सञ्चालन हुन नसक्ने भएकाले विधान संशोधन गरी नयाँ ढंगले पार्टी संगठनलाई अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए । उनले पार्टीको विधान संघीय ढाँचामा लैजानका लागि पनि यो आवश्यक भएको भन्दै प्रस्तावित विधान मस्यौदामाथि कार्यकर्ताबाट आएका जायज सुझावलाई विधानमा समेटिने उल्लेख गरे ।

    पार्टीको नेतृत्वका लागि प्यानल बनाएर चुनाव लड्ने र पार्टीमा निरन्तर गुटवन्दी गरिराख्ने प्रवृत्तिको अन्त्य गर्न अपरिहार्य रहेको भन्दै प्रस्तावित विधानले अध्यक्ष, महासचिव र केन्द्रीय सदस्य गरी २२५ सदस्यीय कमिटी निर्माण गर्ने र उक्त कमिटीले बाँकी पदाधिकारी मनोनयन गर्ने व्यवस्था समेटेको बताए ।

    कार्यक्रममा एमाले रुपन्देहीका संयोजक शिवराज सुवेदीले पार्टीको मूल नीति र नेतृत्वमाथि प्रहार हुँदा कम्युनिष्ट आन्दोलन नै विसर्जनको दिशातर्फ जाने भएकाले यसलाई रोक्नका लागि पनि विधान संशोधन अपरिहार्य रहेको बताए । छलफल कार्यक्रममा एमाले तिलोत्तमा नगर कमिटी सचिव मिनप्रसाद पोखरेल, तामानाथ पाण्डे, केशव गौतम, रेनुका खरेल, उमापति न्यौपाने, टिकानिधी गौतम लगायतले आ–आफ्नो धारणा तथा सुझाव राखेका थिए । 


    युवा संघका शाखा कमिटी गठन :

    एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ तिलोत्तमाको ४ नम्बर र १६ नम्बर शाखा कमिटी गठन गरिएको छ । 
    ४ नम्बर शाखा कमिटीको अध्यक्षमा हेमबहादुर सिंजाली, उपाध्यक्षमा कृष्णा कार्की, सचिवमा दिपेन्द्र सापकोटा, कोषाध्यक्षमा दिले शर्मा र सहसचिवमा प्रदिप न्यौपाने रहेका छन् ।

    त्यस्तै सदस्यहरुमा दलबहादुर क्षेत्री, इन्द्रप्रसाद पाण्डे, टिका सुवेदी, सुजन थापा, लेखनाथ बेलबासे, काशीराज बेलबासे, अनिता बस्नेत, राजेन्द्र अर्याल, नारायण पौड्याल, पूर्णबहादुर फालेमगर र राम खरेल रहेका छन् भने वडा इन्चार्जमा सुरेश थापा रहेका छन् ।

    भेला युवा संघका नगर अध्यक्ष दिपेश कंडेलको अध्यक्षतामा भएको थियो भने एमाले नगर कमिटी अध्यक्ष मोहन चापागाईं, युवा संघका केन्द्रीय सदस्य, युवराज पराजुली, जितेन्द्र जिसी, दिपक ज्ञवाली तथा शंकर पाण्डे, सुवाश खत्रीलगायतले बोलेका थिए ।  

    त्यस्तै तिलोत्तमा १६ को शाखा कमिटीको अध्यक्षमा सन्जय नेपाल चयन भएका छन् भने उपाध्यक्षमा विष्णु बस्याल, सचिवमा एकदेव बस्याल, सहसचिवमा शिव भण्डारी, कोषाध्यक्षमा दिपक पाण्डे रहेका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology