बुटवल,भदौ २ ।
प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाकोबैठक आजपनि अवरुद्ध गरेको छ । एमालेले आफ्ना सांसदलाई गरेको कारवाहीको सूचना सभामा पढेर सुनाउन सभामूख पूर्णबहादुर घर्तीसमक्ष माग राख्दै मंगलबार र बुधबारका दुबै बैठकहरु अवरुद्ध गरेको हो ।
एमालेले आफ्नो पार्टीबाट चुनाव लडेका दुई सांसदहरु अजयबहादुर शाही र विमला वलीले राजनीतिक दलसम्बन्धी ऐन विपरित काम गरेको भन्दै कारवाही गरेको पत्र सभामूखलाई बुझाइसकेको छ । उक्त पत्र सभामूखले प्रदेश सभामा पढेर नसुनाउँदा सम्म सदन चल्न नदिने अडानमा एमाले रहेको छ ।
बैठक अवरुद्ध गरेपछि आजको बैठक पनि स्थगित गरिएको सभामूख घर्तीले जानकारी दिए । आजको बैठकमा प्रतिपक्षका सांसदहरुको नारावाजीका बीच सभामुख घर्तीले कारवाहीको पत्र प्रशासनिक कार्यप्रक्रिया अगाडि बढिरहेकाले अहिले सुनाउन नमिल्ने बताए ।
उनले प्रतिपक्ष एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाललाई कारवाहीका लागि थप आवश्यक काजगपत्रहरु समेत पेश गर्न आग्रह गरेको बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)