बुटवल साउन २६ ।
रुपन्देही उद्योग संघले ‘नो मास्क नो मुभमेन्ट’ अभियान अन्तर्गत २० हजार थान सर्जिकल मास्क वितरण गरेको छ । संघले कोरोना भाइरससँग जोगिन अनिवार्य मास्क लगाउन अनुरोध गर्दै बुटवलको अस्पताल लाइनमा सचेतना कार्यक्रमको आयोजना गरी मास्क वितरण कार्यक्रम सम्पन्न गरेको हो ।
वितरण समारोहमा बोल्नुहुँदै संघका अध्यक्ष बाबुराम बोहोराले हामी सबै नागरिकहरु हातेमालो गरी कोरोनासँग जुधेर देशको अर्थतन्त्र बचाईराख्न र जनजीवनलाई सुरक्षित बनाउन सचेत हुनुपर्नेमा जोड दिनु भएको थियो । उहाँले कोरानासँग बच्न मास्क लगाउन अपरिहार्य रहेको बताउनुहुँदै संघले मास्क वितरण अभियानलाई पुनः संचालन गरेको बताउनु भएको थियो ।
उहाँले संघद्वारा २०७६ फागुन १ गते मास्क वितरण अभियान थालनी गरेको समेत स्मरण गराउनु भएको थियो । कार्यक्रममा उपस्थित संघका पूर्व अध्यक्ष पि.एल. श्रेष्ठ र तेज कुमार पाठकले पैदल यात्री र सवारी साधनमा मास्क नलगाई यात्रा गर्नु भएका आम सर्वसाधरणलाई मास्क वितरण गरी अभियानको शुरुवात गर्नु भएको थियो ।
सो अवसरमा संघका पदाधिकारी, कार्यसमितिका सदस्यहरु, सल्लाहकार एवं कर्मचारीहरुको उपस्थितिमा सर्वसाधारणलाई मास्क लगाउन अनुरोध गर्दै दुई हजार थान मास्क वितरण गरिएको संघका महासचिव जिवकान्त काप्mलेले जानकारी गराउनु भएको छ । अभियानकै शिलशिलमा संघले जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गलाई दश हजार थान, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक मनोज के.सी.लाई २ हजार थान, प्रादेशिक ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापालाई २ हजार थान, इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन कुँवरलाई दुई हजार थान र वडा प्रहरी कार्यालय बुटवल रामनगरलाई दुई हजार थान गरीे बीस हजार थान मास्क वितरण गरेको हो ।
संघले यस अभियानमा सहभागी हुन सबै व्यवसायिक संघसंस्था, सामाजिक संस्थाहरु, उद्योगी, व्यवसायीहरुसँग आग्रह समेत गरेको प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले नागरिक अननलाइनलाइ बताउनुभयो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)