बुटवल,साउन २२ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । यसबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक समेत बोलाइएको छ ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्वविटमार्फत सो जानकारी दिएका हुन् ।कोभिड- १९ संक्रमण फैलदै गएको परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति मन्त्रालय संवेदनशील रहेको मन्त्री श्रेष्ठले उल्लेख गरेका छ्न् ।
‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकार गराउँछु,’ उनले लेखेका छन् ।
कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा ३१ साउनदेखि शुरु गर्ने तय भएको थियो । बोर्डले भौतिक दूरी कायम गरी एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राख्ने गरी तयारी थालेको थियो ।
परीक्षा अगावै अनिवार्य रुपमा पीसीआर परीक्षण गर्ने, परीक्षा केन्द्रमा स्वास्थ्य परीक्षण गर्ने र केन्द्रमा हेल्थडेस्क राख्ने लगायतको तयारी थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)