बुटवल,असोज ८-
स्याङ्जामा खसेकाे पहिराेले पुरिएर १० जनाको मृत्यु भएको छ । विहीवार विहान गएको पहिरोमा परी एकैघरका ९ जना सहित १० को मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
वालिङ नगरपालिका १४ तमादिका एकौघरका ९ जना र कालीगण्डकी गाउपालिका ४ गौतमडाँडाका एक गरी १० जनाको ज्यान गएको हो । पहिरोमा परी तमादीका १६ बर्षे मनिषा नेपालीको भने जिबितै उद्धार गरिएको छ । उनको पोखरामा उपचार भैरहेको छ ।
पहिरोमा परी ज्यान गुमाउनेमा १४ बर्षे बिक्रम नेपाली, १९ का बिनिता नेपाली, २१ का कुलदिप नेपाली र ७ महिनाका एक बालक छन । यसैगरी, २८ का उमाकला नेपाली, ४८ का माया नेपाली, ३० को दिपक नेपाली, ६० का सानी नेपाली र ९ बर्षे बिबश नेपाली र कालीगण्डकी गाँउपालिका ४ का बावुराम दमाई मृत भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले नागरिक अनलाइनलाइ जानकारी दिए ।
मंगलबारदेखि अविरल रुपमा परेको बर्षादले माथिबाट आएको पहिरोले घर पुरिएको थियो । सडकलाई फराकिलो बनाउने अभियानले डोजर प्रयोग हुदा पुरै डाडो नै चर्किएको अवस्था छ ।
कुनै बेला अझै ठुलो पहिरो जान सक्ने स्थानीय खुमप्रसाद लुईटेलले बताए । ०७२ सालको भुकम्पले हल्लाएको डाँडो र सडक फराकिलो बनाउदा प्रयोग भएको डोजरका कारण पहिरो गएको लुईटेलले बताए । विहान पख पहिरो गएकाले शब निकाल्न सहज भएको उनको भनाई छ । उनका अनुसार माईलो छोरा भारतमा रहेका र कान्छी छोरीलाई जिवितै उद्धार भएकाले अरु सबैको ज्यान गयो ।
पहिरोले घर पुरिएको खबर पाएपछि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी सहित वालिङ नगरपालिका जनप्रतिनिधि समेत उद्धारका लागि पुगेका थिए ।
घट्ना थाहापाए लगत्तै घट्नास्थलमा पुगेर सबै सुरक्षाकर्मी र स्थानीयहरुको सहयोेगमा उद्धार गरिएको शसस्त्र प्रहरी बल ३० नम्वर गुल्म स्याङ्जाका प्रमुख प्रहरी नायव उपरिक्षक मोहोन न्यौपानेले बताए । पटक पटक स्थानीयले पहिरोको जोखिम भएकाले नबस्न आग्रह गरेको र अन्य दिनमा बाहिर सुत्ने गरेपनि बुधबार राती घरमै सुतेकाले दुर्घट्ना हुन पुगेको उनले बताए ।
पानी परेपछि पहिरोको जोखिमका कारण बाहिर बस्दै आएका नेपालीका परिवार गएराती भने सोही घरमा सुतेका थिए । बिहान एक्कासी पहिरो खसेपछि उनीहरुको ज्यान गएको हो । पहिरोमापरि ४ महिला, ४ पुरुष र एक ७ महिने नावालकको ज्यान गएको हो । तमादिमा ज्यान गुमाउनेमा २८ बर्षे उमाकला बाहेक अन्य सबै एकाघरका हुन ।
पहिराका कारण दर्जनौं सडक अवरुद्ध छन । स्याङ्जामा सडकको पहिरोको कारण अहिले सम्म १८ जनाको ज्यान गइसकेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)