बुटवल,साउन २१ ।
साउन १५ गतेदेखि नै ‘बेपत्ता’ पारिएकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री (वली)को अवस्थाका बारेमा आज जानकारी दिइने भएको छ ।उनी हिजाेमात्रै नेकपा माओवादी केन्द्रको कार्यालयमा आफैपुगेकी थिइन् ।
माओवादी केन्द्रको सम्पर्कमा नरहेकी सांसद वलीले सोमबार मात्रै नेकपा एमालेमा फर्केको भनेर मुख्यमन्त्री शंकर पाेखरेलकै सरकारी निवासबाट विज्ञप्ति सार्वजनिक गरिएको थियाे ।
‘पाँच दिनसम्म बन्धक हुनुभएको सांसद पार्टीको सम्पर्कमा आउनुभयो, उहाँ कुन अवस्थामा कहाँ हुनुहुन्थ्यो, त्यो सबै कुरा आज दिउँसो पत्रकार सम्मेलनमा भन्नुहुनेछ,’ नेकपा माओवादी केन्द्र लुम्बिनीका प्रमुख सचेतक तुलाराम घर्ती मगरले नागरिक अनलइनसंग भने। सांसद वली मानसिक रुपमा विक्षिप्त अवस्थामा बन्धनबाट फुत्केर पार्टीको सम्पर्कमा आएको उनले बताए।
नेकपाबाट दाङको निर्वाचन क्षेत्र नम्बर ३ ख बाट निर्वाचित वलीले सर्वोच्चले नेकपा खारेज गरी एमाले र माओवादी ब्युँताइदिएपछि माओवादी केन्द्र रोजेकी थिइन्। गत वैशाख १९ गते मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएकै दिन वलीले प्रदेशसभामा माओवादी केन्द्र रोजेको पत्र बुझाएकी थिइन्।
सांसद विमलाको घाँटीको स्वास्थ्य उपचार गराउन भन्दै एमाले नेताहरुले नेपालगञ्ज सँगै जाने भनेर एउटै गाडीमा लगेका थिए। तर, बीच बाटोबाटै बुटवलतर्फ ल्याएर बन्धक बनाएको माओवादीको दावी छ। ‘हामीले प्रशासनको सहयोगमा खोजी गरिरहेका थियौं, माननीय विमलाजी बन्धक नै हुनुभएको थियो’ माओवादी केन्द्र लुम्बिनी प्रदेशका प्रमुख सचेतक घर्तीले भने। माओवादी नेताहरुले मुख्यमन्त्री निवासमा सांसद वलीलाई बन्धक बनाएर राखेको आरोप लगाएका छन्।
विमला माओवादी केन्द्रमा फर्केपछि विपक्षी गठवन्धनको पक्षमा सभामुख सहित ४२ सांसद संख्या पुगेको छ। प्रदेश सभामा हाल कायम ८० सदस्यीय सदस्यमा सत्ता पक्षमा ३८ मत छ भने विपक्षमा ४१ मत छ। विपक्षी गठबन्धनले मुख्यमन्त्री विरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गरेर विशेष अधिवेशनको माग गरेको छ।
हेराैँ यी खबरहरु :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)