बुटवल,साउन १८ ।
सर्वोच्च अदालतको सोमबारको फैसलाले कर्णाली प्रदेश सभाका एमालेका चार सांसद्ले पद गुमाएका छन्। शाहीको सरकार टिकाउने प्रकाश ज्वाला,अम्बरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई सर्वोच्च अदालतले सांसद पदबाट मुक्त गरेको छ ।
जेठ २७ को अन्तरिम आदेशमार्फत् पदमा निरन्तरता पाएका उनीहरूको पद गुमाएसँगै कर्णाली प्रदेशमा सत्ता गठबन्धनलाई तत्कालका लागि स्पष्ट बहुमत उपलब्ध भएको छ।
सोमबार एमालेका ४ सांसद् पदमुक्त भएपछि प्रदेश सभाको आकार ३५ सदस्यीय भएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सत्ता सुरक्षित भएकाे छ । वैशाख ३ मा भएको मतदानमा शाहीले २२ मत पाएका थिए।
कर्णाली प्रदेशको खास आकार ४० सदस्यीय हो। तर, एमाले प्रवेश गरेका माओवादी केन्द्रका सांसद् धर्मराज रेग्मी पदमुक्त भएपछि ३९ सदस्यीय रहँदै आएको थियो।
अब प्रदेश सभामा एमालेका १६ जना (सभामुखसहित), माओवादी केन्द्रका १२ जना, कांग्रेसका ६ जना र राप्रपाका १ जना सदस्य छन्।
३५ सदस्यीय प्रदेश सभामा बहुमतका लागि १८ जना सांसद् भए पुग्छ। जुन गठबन्धनमा रहेका माओवादी केन्द्र र कांग्रेससँग सहजै उपलब्ध हुनेछ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)