बुटवल, साउन १५ ।
नेपाल शिक्षक महासंघले चौथो चरणको आन्दोलनको कार्यक्रम अन्तरगत आज देशभर रिले अनसन गरेको छ । हरेक स्थानीय तह, जिल्ला शिक्षा तथा समन्वय इकाई, प्रदेशको शिक्षा तथा सामाजिक विकास मन्त्रालय र केन्द्रमा माइतीघर मण्डलामा अनसन कार्यक्रम गरिएको हो ।
शिक्षक महासंघ लुम्बिनीले पनि सामाजिक विकास मन्त्रालय बुटवलमा रिले अनसनको गरेको हाे । बिहान ८ बजेदेखि दिउसो ४ बजेसम्म कार्यक्रम भएको थियाे ।
महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष तथा आन्दोलन परिचालन समितिका संयोजक कुलप्रसाद लामिछानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
संयोजक लामिछानेले शिक्षकहरुप्रति राज्यको विभेदपूर्ण नीतिका कारण आन्दोलनमा उत्रन बाध्य भएको बताउदै मागहरु पूरा नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
त्यस्तै जिल्ला शिक्षा तथा समन्वय इकाई रुपन्देही तथा जिल्लाका १६ वटै स्थानीय तहमा रिने अनसन कार्यक्रम सम्पन्न भएको छ । अनसनमा महासंघमा आवद्ध शिक्षक संघ संस्थाका पदाधिकारीहरु, सदस्यहरु तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।

महासंघले शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त गर्नुपर्ने, शैक्षिक क्षेत्रका लागि छुट्टै मर्यादाक्रम कायम हुनुपर्र्ने, निजामती कर्मचारी सरह तलव भत्ता र ग्रेडिङको व्यवस्था हुनुपर्ने, विगतमा सरकार र महासंघबीच भएका सम्झौताहरुको पालना गर्नुपर्ने माग गर्दै आएको छ ।
यस्तै तत्काल संघीय शिक्षा ऐन लागू गर्न, स्थानीय तहबाट हुने शिक्षक सरुवा रोक्न, शिक्षक कर्मचारी स्वास्थ्य कोषको व्यवस्था गर्न, शिक्षक अस्पतालको व्यवस्था गर्नुुपर्ने लगायतका ३४ बुँदे माग राखेर चरणवद्ध रुपमा आन्दोलन गर्दै आएको छ ।
यता बुटवल उपमहानगरपालिकामा पनि नेपाल शिक्षक महासंघ बुटवलले रिले अनसन गरेको छ ।
नेपाल शिक्षक महासंघ बुटवलको आन्दोलन परिचालन समितिका संयोजक नेपाल शिक्षक महासंघ बुटवलका अध्यक्ष टिकाराम शर्मा पौड्यालको नेतृत्वमा दिनभर रिले अनसन भएको थियाे भने उपमहानगरपालिका विभिन्न विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।



नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)