बुटवल,साउन ९-
नेपाली राष्ट्रिय फुटबल टिमले वालिङ नगरपालिका टिमकी स्ट्राइकर शान्ता नेपालीलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टिमले एक लाख रुपैयाँ सहयोग गरेको हो ।
नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको सहयोगमा नेपाली टिमका खेलाडीहरुले उक्त सहयोग रकम नेप्लेज डटकमका सम्पादक मुक्तिबाबु रेग्मीलाई हस्तान्तरण गरेका हुन् ।
राष्ट्रिय टिम बसेकै होटेलमा नेपाली खेलाडी विकेश कुथु र सुुमन अर्यालले रेग्मीलाई सहयोग रकम हस्तान्तरण गरेका थिए । सो अबसरमा कुथुले नेप्लेजको युट्युव च्यानलमा शान्ताको कथा हेरेपछि आफू भावुक भएको बताए ।
खेलाडीहरुलाई खेल्ने वातावरण मिलाउनका लागि सक्दो सबैले सहयोग गर्दा देशलेनै उत्कृष्ट खेलाडी पाउने विश्वास व्यक्त गरे । उनले आफूहरुले गरेको सहयोग शान्ताको हातमा पु¥याई दिन पनि अनुरोध गरेका थिए ।
सो अबसरमा सम्पादक रेग्मीले अहिले विभिन्न ठाउँबाट सहयोग गर्नेहरुले सम्पर्क गरिरहेको जानकारी दिँदै नेपाली टिमले गरेको सहयोग सम्बन्धित व्यक्तिकै हातमा पु¥याउने प्रतिवद्धता जनाएका थिए ।
नेप्लेज डटकमले शान्ताको परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले सामाजिक सञ्जालमा सहयोग गर्न अपिल गर्दै भिडियो पोस्ट गरेपछि अहिलेसम्म अस्ट्रेलिया बस्ने भैरहवाका मुकुल क्षेत्रीले ५० हजार तीन सय रुपैयाँ पठाएका छन् ।
विगतमा आफू पनि फुटबल खेलाडी रहेको बताउँदै क्षेत्रीले नेपाली खेलाडीको अवस्थाबारे जानकार रहेको बताउँदै आगामी दिनमा पनि सहयोग गर्न आफू तयार रहेको बताए ।
यसैगरी स्यान्सु भुसालले ५ हजार सहयोग गरेका छन् । अहिले पनि सहयोग गर्नका लागि सम्पर्क गर्नेहरुको संख्या बढेको छ । अहिले देश विदेशबाट शान्ताको भिडियो हेरेपछि सहयोग गर्नेहरुले निरन्तर सम्पर्क गरिरहेको र उनीहरुले पठाउने क्रम पनि जारी रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)