बुटवल,साउन ७-
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि एक हप्तायता कोरोना संक्रमण दर फेरि बढेको बताएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन पनि भनेको छ ।
निषेधाज्ञा खुकुलो भएपछि लुकीछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यको मापदण्ड उल्लंघन भइरहेको भन्दै मन्त्रालयले यो अवधिमा कोरोना संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न नसकेको उल्लेख गरेको छ ।
अहिले पनि १० जिल्लामा ५०० भन्दा बढी र २६ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको भन्दै स्वास्थ्य मन्त्रालयले संक्रमणको जोखिम अझै बढिरहेको बताएको छ । मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार खोप केन्द्रहरुमा हुने भिडले पनि संक्रमणको जोखिम बढाएको छ । त्यसैले मन्त्रालयले खोप लगाउन जाँदा आफ्नो पालोमा लगाउन र जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ ।

पछिल्लो २४ घण्टामा २,७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,१२२ पीसीआर परीक्षणमा १८५५ जना र ३,७०७ एन्टिजेन परीक्षणमा ८५९ जना गरी २७१४ जनामा संक्रमण पुष्टि भएको हो ।संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ भने १२८८ जना संक्रमणमुक्त भएका छन् ।बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७४ हजार ७२६ पुगेको छ ।
तीमध्ये ९ हजार ९६६१ जनाको मृत्यु भएको छ भने ६ लाख ३७ हजार ६९० जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ जना रहेका छन् ।
जसमध्ये २४ हजार ६१६ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७५९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६३५ जना आईसीयू र १७२ जना भेन्टिलेटरमा उपचाररत् छन् ।यस्तै १० वर्ष मुनिका ५७ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २०५ जना कोरोना संक्रमित थपिएका छन् ।
रुपन्देहीमा पछिल्लो २४ घण्टामा ९ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा १४७ जनाको कोरोना परीक्षण गरिएको थियो ।पछिल्लो २४ घण्टामा ३ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिका, देवदह नगरपालिकामा २–२ जना, सिद्धार्थनगर नगरपालिका, सैनामैना नगरपालिका र शुद्धोधन गाउपालिकामा १–१ जना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि ज्यान नगएको कार्यालयले जनाएको छ । हालसम्म जिल्लामा ५०६ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३३४ रहेको छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)