बुटवल,साउन ६ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फ्लोर क्रस गर्ने २२ सांसदलाई स्पष्टीकरण पत्र काटेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको बारे केही उल्लेख गरिएको छैन । तर पार्टीविरुद्ध भेला तथा गुटगत गतिविधि गरेको र पार्टी निर्णय विपरीत विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण काम गरेको आरोप लगाएको छ ।
५ साउनको मिति राखेर पत्र पठाइएको हाे । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिँदा वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले फ्लोर क्रस गरेर मत दिएका थिए ।
त्यसको भोलिपल्ट बसेको एमाले अध्यक्ष ओली पक्षीय नेताहरु मात्र रहेको केन्द्रीय कमिटी बैठकले २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
यता नेकपा एमाले नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठकले एमाले पार्टी एकतामा जोड दिएको छ । काठमाडौंको बुद्धनगरमा बसेको बैठकमा भएको छलफलमा पार्टी एकतामा जोड दिएको स्थायी समिति सदस्य रघुजी पन्तले जानकारी दिए ।

‘एकता प्रक्रिया अगाडी बढाउनुपर्छ र एकतामा जोड दिनुपर्छ भन्ने सवैको भनाई रह्यो’, बैठकपछि पन्तले बैठकले एकता वार्ता चलिरहेको र १० बुँदे प्रस्ताव तयार पारेको बेलामा स्पष्टीकरण सोध्ने र बरिष्ठ नेता माधव कुमार नेपालविरुद्ध पुत्ला जलाउने लगायतका विषय तत्काल रोक्न प्रस्ताव पास गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)