बुटवल,साउन ३-
नवनियुक्त प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुुर देउवाले आजै विश्वासको मत लिने भएका छन्। संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले नियुक्तिको ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।
देउवाले आज अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन्। पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दै छ।
सर्वोच्च अदालतको फैसलाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति देउवालाई गत असार २९ गते प्रधानमन्त्री पदमा नियुक्ति गरेकी हुन्।
देउवा एमालेको माधव नेपाल तथा जसपाको उपेन्द्र यादव पक्षका समेत बहुमत १४९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन्। तर अहिले उनले बहुमत ल्याउन सकेनन् भने प्रधानमन्त्री पद स्वतः खारेज हुन्छ र कामचलाउ प्रधानमन्त्रीमा परिणत हुनेछन्।
देउवा सरकार गठनका अन्तिम उपधाराबाट प्रधानमन्त्री बनेकाले अब उनी विश्वासको मत लिन असफल भए उनैले प्रतिनिधि सभा विघटन गरी चुनाव घोषणा गर्न सक्ने संवैधानिक व्यवस्था छ।
तर आन्तरिक विवादका बाबजुद एमालेको नेपाल तथा जसपाको यादव पक्ष आफ्नो पहिलेकै अडानमा अडिग रहेकाले देउवाले विश्वासको मत पाउने सम्भावना प्रबल देखिएको छ।
देउवालाई प्रतिनिधिसभामा तत्काल कायम रहेको २ सय ७१ सांसदमध्ये १ सय ३६ जनाको समर्थन चाहिन्छ ।
कांग्रेस र माओवादीसँग १ सय १० सांसद छन् । जसपाको उपेन्द्र यादव पक्षका १२ जनाले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । अहिले यो संख्या बढेर १७ पुगेको यादव पक्षले जनाएको छ । त्यसो हुँदा प्रस्तावको पक्षमा १२७ सांसद हुन्छन् ।
राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल गठबन्धनमै छन् । त्यो अवस्थामा एमालेको माधव नेपाल पक्षका ८ जना सांसदले विश्वासको मत दिए देउवाको सरकार जोगिन्छ । माधव नेपाल पक्षका २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)