बुटवल,साउन ३-
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले क्रियाशील सदस्यको छानबिन प्रक्रिया टुंगिएको बताएका छन् । उनले पार्टीमा क्रियाशील सदस्यको छानबिन अन्तिम चरणमा पुगेको बताएका हुन् ।
समितिका प्रवक्तासमेत रहेका पौडेलले जिल्लाबाट पठाइएका क्रियाशील सदस्यको फाइल हेरेर छानबिन प्रक्रिया टुंगिएको र केही दिनमै बाँकी रहेका केही जिल्ला र क्षेत्रहरूको पनि छानबिन गरेर पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने निर्णय भएको उनले बताए ।
१४औँ महाधिवेशनमा ८ लाख ५२ हजार क्रियाशील सदस्यको इन्ट्री भएको उनले बताए । तर, कतिपय सदस्य उजुरीका आधारमा हट्नेछन् भने केही वडामा थपिन पनि सक्छन् । अहिलेसम्म जनसम्पर्क समितिका क्रियाशील सदस्यता नआइसकेकाले आठ लाख ५० हजार क्रियाशील सदस्य कायम हुन सक्ने उनको भनाइ छ ।
पुरानो कार्यतालिका पनि केही फेरबदल हुन सक्ने उनले बताए । ‘अब प्राविधिक पाटोको मात्रै काम बाँकी छ’ पौडेलले भने ‘तीन–चार दिनमा क्रियाशील सदस्यहरूको हार्डकपी बुझाउँछौँ, सभापतिले केन्द्रीय समितिमा राखेपछि समितिबाट पास हुँँदै निर्वाचन समिति र त्यहाँँबाट वडामा जानेछ ।’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)