बुटवल,साउन १-
लुम्बिनी प्रदेशका विपक्षी गठबन्धन (चारदल)ले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग्दा माग्दै हैरान परेका छन् । उनीहरूले मागेको राजीनामा भने सजिलै आउने कुनै छाटँकाटँ छैन बरू बिपक्षीदल र संसद छलेरै भएपनि शासन लम्बाउने दाउमा मुख्यमन्त्री पोखरेल लागिरहेका छन् ।
प्रदेश सरकारले आज अध्यादेशमार्फत बजेट जारी गरेपछि रुष्ठ भएको विपक्षी गठबन्धनले बलजफ्ती, निरङ्कुश र स्वेच्छाचारी ढंगले सरकार सञ्चालन गर्नुको सट्टा मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएको छ ।
प्रदेश सभामा पेश भएको बजेटमाथिको छलफलपछि निर्णयार्थ पेश गर्न लाग्दा पास नहुने देखेपछि हठात् मानसिकताबाट ग्रसित भई अधिवेशनको अन्त्य गरेर सोझै अध्यादेशबाट बजेट ल्याउने कार्य असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कदमु रहेको विपक्षी गठबन्धनको ठहर छ ।
‘अध्यादेशबाट बजेट ल्याई बलजफ्ती निरङ्कुश र स्वेच्छाचारी ढंगले सरकार सञ्चालन गर्नुको सट्टा मुख्यमन्त्रीले तत्काल राजीनामा दिई संसदीय परम्परा अनुसार बजेट पारित गर्न जोडदार माग आह्वान गर्दछौं ।’-भनिएको छ ।
नेपाली कांग्रेसका दलका नेता वीरेन्द्र कानोडीया, नेकपा माओवादी केन्द्रका दलका नेता कुलप्रसाद केसी, जनता समाजवादी पार्टी नेपालका दलका नेता सहस्राम यादव र राष्ट्रिय जनमोर्चाका दलका नेता तारा जिसीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ-यस परिघटनाले पोखरेलको नेतृत्वको लुम्बिनी प्रदेश सरकार असंवैधानिक र अल्पमतको सरकार हो भन्ने प्रमाणित गर्दछ ।

यी खबरहरू पनि पढाैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)