बुटवल,असाेज ६-
नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल गर्न असोज १९ गते दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । कोभिड–१९ को महामारीका कारण बैठक अगाडि काँग्रेसले पदाधिकारी, सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको कोरोना परीक्षण पनि गर्ने भएको छ ।
त्यसका लागि असोज १५ गते बिहान ११ बजेबाट ३ बजेसम्म सम्पूर्ण पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र कर्मचारीहरुलाई अनिवार्य पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ ।
कोरोना महामारीले फागुन ७ देखि १० का लागि निर्धारित १४ औं महाधिवेशन अन्योल बनेपछि काँग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो । कोरोना महामारीका बीच वर्तमान कार्यविधिभित्र रहेर निर्धारित मितिमा महाधिवेशन गर्न सम्भव नभएपछि बैठक छलफलबाट निकास खोजिने भएको छ ।
काँग्रेसमा पार्टी संयोजन, क्रियाशील सदस्यता वितरण र नवीकरणका कार्यसूचीमै कोरोनाको चुनौती खडा भएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)