बुटवल,असार २४-
लुम्बिनी प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत भएका छन् । कोरोना संक्रमणबाट मृत्युभएका पत्रकार चौधरीलाई मरणाेपरान्त सिर्जनशिल पत्रकारिता पुरस्कार–२०७७ बाट सम्मान गरेको छ ।
मुख्यमन्त्री कार्यालय बुटवलमा विहिबार एक कार्यक्रमको आयोजना गरी चौधरीको नाममा श्रीमती उदयदेवि कँवरलाई नगद ५० हजार बराबरको पुरस्कार राशी प्रदान गरिएको छ ।
यसैगरी दाङका पत्रकार शुशिल गौतम अग्रज पत्रकारिता पुरस्कार–२०७७ बाट सम्मानित भएका छन् । ६७ वर्षीय गौतमलाई नगद एक लाख पुरस्कार राशीसहित सम्मान गरिएको हो । सिर्जनशिल पत्रकारीता पुरस्कारबाट बाँकैकी महिला पत्रकार अक्षरी पोखरेल र गुल्मीका पत्रकार जनार्दन घिमिरे सम्मानित भएका छन् ।
उनीहरुले जनही ५० नगद राशी प्राप्त गरे । लुम्बिनी प्रदेशका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरी र आन्तरिक मामिला तथा कानून मन्त्री चेतनारायण आचार्यले पत्रकारहरुलाई नगद राशीसहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरे ।
सम्मानित भएपछि बोल्दै अग्रज पत्रकार शुशील गौतमले प्रेस स्वतन्त्रताप्रति आफ्नो अविछिन्न आस्था रहने स्पष्ट पार्दै सम्मानले थप जिम्मेवारी बढेको उल्लेख गरे । अक्षरी पोखरेलले आफूमा थप जिम्मेवारी आइलागेको उल्लेख गरिन् । प्रदेश सरकारले पुरस्कार वितरणका लागि रुपन्देहीका पत्रकार डिआर घिमिरेको संयोजकत्वमा विमला चौधरी र केवि घिमिरे सदस्य रहने गरी ३ सदस्यीय छनोट समितिलाई जिम्मा दिएको थियो ।
साे अवसरमा बाेल्दै आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने पक्षमा प्रदेश सरकार नरहेको तथा केही कमजोरीहरु छन् भने पनि त्यसलाई सच्याउन तयार रहेको उल्लेख गरे ।
आन्तरिक मामिला तथा कानून मन्त्री चेतनारायण आचार्यले सञ्चार विधेयकमा भएका मजोरीहरु सच्याउनका लागि सरकार तयार हुँदाहुँदै पनि दिगभ्रमित पारेर विरोधमा उत्रिएकोप्रति आक्रोस व्यक्त गरे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)