बुटवल,असार २४-
पाल्पामा अविरल बर्षाका कारण पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
तिनाउ गाउँपालिका – ५, हिउँदेखोला गिट्टी खानी, क्षेत्रमा माथिबाट झरेको पहिरोले घर बगाउँदा ४५ वर्षीय वीरबहादुर गुरुङ र स्थानीय चार वर्षीय बालक आरम्भ परियारको मृत्यु भएको हो ।
पहिरोमा पुरिएको अवस्थामा गुरुङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।पहिरोले घर बगाउँदा सोही ठाउँका रमेश परियारको ४ बर्षीय छोरा आरम्भ परियार पुरिएको अवस्थामा कल्याणी आधारभूत विद्यालय जाने बाटोमा भेटिएको प्रहरीले जनाएको छ ।
पहिरोले नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पुरिएको छ ।पहिरोले स्थानीय २६ वर्षीय रमेश परियार, २४ वर्षीया पुजा परियार, ५० वर्षीय बलबहादुर पुन, २० वर्षीय आकाश तामाङ, २२ वर्षीय दिल बहादुर राना र दिपेश पुन घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरुको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
पहिरोको कारण सडक अवरुद्ध हुँदा पर्याप्त जनशक्ति घटनास्थलमा पुग्न कठिन भएको थियो ।दोभानबाट प्रहरी आएपछि स्थानीयको सहयोगमा घाइतेको उद्दार गरी अस्पताल पठाएका थिए । बुटवलतर्फ लैजान कठिन भएको र तानसेन लैजान पनि कालीमाटीमा पहिरो झरेकाले समस्या भएको थियो ।
पहिरोले नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, बलबहादुर पुन र रमेश परियारको घर पहिरोले बगाएको स्थानीय विष्णु बहादुर गाहाले बताए ।स्थानीय प्रेम श्रेष्ठ, विष्णु गाहा, सुन्दर गाहा लगायतको पहलमा घाइतेको उद्दार भएको थियो । पहिरो पीडितलाइ कल्याणी आधारभूत विद्यालयमा खाने बस्ने व्यवस्था मिलाइएको प्रधानाध्यापक सुन्दर गाहाले बताए ।
पहिरोको कारण सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड समेत अवरूद्द भएको छ । सिद्धबावा, झुम्सा, पानी मिल, हिउँदे खोला, कालीमाटी क्षेत्रमा पहिरो खसी सडक अवरुद्ध भएको पाल्पा प्रहरीले जनाएको छ । सिद्धार्थ राजमार्गको तानसेन पोखरा सडक खण्डको राम्दी तथा शेरा क्षेत्रमा पहिरो झरी सडक अवरुद्ध भएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)