बुटवल,असार २२-
कोराेना संक्रमणका कारण बुटवल उपमहानगरपालिकाका एक वडा अध्यक्षको मृत्यु भएको छ। वडा नम्बर १८ का अध्यक्ष हुमनाथ आचार्यको कोभिड–१९ को संक्रमणपछि मंगलबार निधन भएको हो।
७२ वर्षीय आचार्यको काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको थियो। उनको मंगलबार बिहान ८ बजे निधन भएको हो।
वडाध्यक्षको बुटवलमा उपचार गरेर थप उपचारका लागि काठमाडौं लगिएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए।
वडाध्यक्ष आचार्यले कोरोनाविरूद्ध पहिलो मात्रा खोप लगाए पनि दोस्रो खोप लगाउन पाएका थिएनन्।उनले भेरोसेलको पहिलो मात्रा गत वैशाखमा लगाएका थिए। उनी नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष हुन् ।
रूपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा थप ३३ जनामा संक्रमण पुष्टि भएको छ भने २१ जना निको भएका छन् । १२० जनाको नमुना परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १०, देवदह नगरपालिका र तिलोत्तमा नगरपालिकामा ७–७ सिद्धार्थनगर नगरपालिकामा ३, कञ्चन गाउँपालिका २,सैनामैना नगरपालिका, शियारी, मायादेबी र ओमसतिया गाउँपालिकामा १–१ जना संक्रमित थपिए ।
रुपन्देहीमा २४ घण्टाको अवधीमा कोरोनाबाट कुनैपिन संक्रमितको ज्यान गएको छैन । जिल्लामा अहिलेसम्म जिल्लामा ४९० जनाको ज्यान गईसकेको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३४१ रहेको छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)