बुटवल,असार १५-
असारको मध्यसम्म आइपुग्दा देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । देशभर २७.१२ प्रतिशत भूभागमा धान रोपाई भएको छ जुन अघिल्लो वर्षको भन्दा ८ प्रतिशतले कम हो ।
कृषि विभागका सूचना अधिकारी महादेवप्रसाद पौडेलकाअनुसार देशभर झण्डै तीन लाख ७१ हजार ९५८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।
गत वर्ष यो अवधिमा चार लाख ८६ हजार हेक्टरमा धान रोपाइँ सकिएको थियो । बर्खा याममा नेपालभर १३ लाख ७१ हजार ७ हेक्टरमा धान खेती हुने पनि उनले जानकारी दिए । सयममै मनसुन सुरु भएको छ र मल बिउको उपलब्धताका कारण देशभर यसवर्ष रोपाइँ उल्लासमय रहेको विभागको दाबी छ ।
देशभरका ७७ जिल्लामध्ये रामेछापमा यस वर्ष कम पानी परेका कारण रोपाइँमा ढिलाइ भएको गुनासो विभागमा आएको छ । अन्य जिल्लाहरुमा भने रोपाइँ नियमित रुपमा चलिरहेको विभागको भनाइ छ ।कुल धान उत्पादनको झण्डै ७५ प्रतिशत हिस्सा ओगट्ने प्रदेश दुईमा भर्खर रोपाइँ सुरु भएको विभागले जनाएको छ ।
कर्णाली प्रदेशमा सबैभन्दा धेरै ६२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ भने प्रदेश दुईमा सबैभन्दा कम १० प्रतिशत क्षेत्रधफलमा मात्रै रोपाइँ सकिएको छ ।
लुम्बिनी प्रदेशमा भने करिब ४६ प्रतिशत रोपाई सकिएको छ । प्रदेशभरी धान खेती हुने कुल ३ लाख ३४ हजार ६७५ हेक्टर क्षत्रफल मध्ये १ लाख ५३ हजार ३ दशमल ५ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)