बुटवल,असार ७-
रूपन्देहीको तिनाउ नदीमा आएको बाढीले चार तपाहा सिंचाईँ प्रणाली नै भत्काइदिएको छ । यहि तिनाउबाट सिंचाई हुदै आएका खेतीयोग्य जमीन यतिबेला सुक्न थालेको छ । बाढीले बुटवल तिनाउपुलको तलबाट पश्चिम जाने चार तपाहा सिंचाईँ प्रणाली सबै भत्काएको हाे ।
तिनाउमा बाढी रोकिएको पनि पाँच दिन बितिसकेको छ तर बाढीले भत्काएको कुलो बनाउन सो क्षेत्रका किसानको पहल सार्थक बन्न सकेको छैन । उनीहरुले सो कुलो पुर्वअवस्थामा फर्काउन मेशिनका माध्यमबाट गर्नुपर्ने काममा अनुमति कुरिरहेका छन् ।
जिल्ला प्रशासन कार्यालय र बुटवल नगरपालिकाले सो क्षेत्रमा मेशिन चलाउन अनुमति नदिदा उता किसानका रोप्न ठिक्क पारेका खेत सुक्न थालेका छन् भने ब्याडबाट गोडिएका धानका बेर्ना समेत सुकेका छन् ।
बुटवल पश्चिमका बेलबास,नयाँगाउँ,मोतिपुर सेमलार फर्साटिकर,छपिया सौराहासम्म करिब ४ हजार ५ सय बिगाहामा सिँचाई गर्ने छ नम्बर तपाहा,खडुवा कुलो , एघार माैजा र ५ मौजाको कुलोमा एकथोपा पानी जानसकेको छैन । अहिले बाढीले साे प्रणालीमा हिलाे,ढुंगा गिट्टी र बालुवा भरिदिएको छ ।
‘कुलो बनाउन मेसिन चलाउने अनुमतिमा प्रशासनले आनाकानी गर्दा यो अबस्था आयो ’। चार तपाहा सिंचाईँ प्रणालीका बरिष्ठ उपाध्यक्ष पुरूषाेत्तम बस्यालले नागरिक अनलाइनसंग भने । नदी दोहनमा मेसिन चलाउन मिल्ने हामीले कुलो बनाएर पानी लैजान मेसिन चलाउन नमिल्ने यो त किसानलाई मार्ने काम भो बस्यालकाे गुनासो छ ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले समितिकै प्रकृयाले केेहिदिन ढिलाइ भएकाे बताए । चार तपाहा सिंचाईँ प्रणाली समितिका पदाधिकारीले भेटेरै समस्या बताएकाले अब छिट्टै अनुमति दिएर कुलाे बन्ने तामाङले बताए ।
‘अर्थतन्त्र चलायमान हुन पनि किसान कृयाशील हुनुपर्छ,मल, बिउ, सिंचाइमा सहजीकरण गर्ने राज्यकाे जिम्मेबारी नै हाे । तर कुलाे बनाउन डाेजर स्काभेटर चलाउन अनुमति दिन पनि ५ दिन लाउनु बिडम्बना हाे ।’ चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले भने ।
बुटवल १३ बेलबासका युवा नारायण खनाल भन्छन्- ‘किसानकाे समस्यामा सरकार कहिले सिरियस देखिँन,कुलाेमा पानी नजाँदा हजाराैँ बिगाहा खेत बाँझै हुने भए हामीलाई राेपाइकाे माचाे छ ,पानी नहुँदा बेहाल भाे ।’
असार पहिलाे सातामा नै तिनाउको बाढीले कतिपयको बस्ती नै उठाइदियो भने कतिपय बिस्थापित समेत बन्न पुगेका थिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)