✍-सितु प्रसाद श्रेष्ठ
जीबनमा हामी सबै सफल हुन चाहन्छौं तर सफलता संयोगमात्र ले प्राप्त हुँदैन। यसका लागि विभिन्न आधारहरूको सम्मिश्रण आवश्यक हुन्छ। तपाईंको लक्ष्य र बानी सफलता प्राप्त गर्ने मुख्य आधार तत्वहरु हुन्।
लक्ष्यले तपाईलाई मार्गदर्शनका साथै ध्यान केन्द्रित गर्न सहयोग गर्दछ भने तपाईंका असल बानीहरु ले तपाईलाई लक्ष्यमा पुग्न अनुशासन प्रदान गर्दछ। कठोर अनुशासन पालना गर्दै अन्तराष्ट्रिय प्रतियोगितामा पुग्ने आफ्नो लक्ष्यमा प्राप्त गर्न सफल एक खेलाडी हुन् बिकास धिमाल।
बिकासकाे शारीरिक सुगठनखेलमा प्रवेश कसरी भयो त ?
पिता कमल र माता चुलीमाया धिमालका कोखबाट बि स २०४३ सालमा बिकासको जन्म उर्लाबारी ८ मोरङ्गमा भएको थियो । सानैदेखि बिकास साथीहरुसँग मिलेर दौड्ने,पुसअप र चिनअप गर्ने गर्थे । २०६४ सालदेखि राजकुमार लिम्बुको प्रेरणामा उनि बेसिक जिमखानामा जान थाले। बिकास आफ्नो प्रशिक्षकका रुपमा रिक्की धिमाल र राजकुमार लिम्बुलाइ मान्छन् । व्यायाम गर्दै जार्दा शरीर क्रमश सुगठित हुदै आयो । त्यसपछि शारीरिक सुगठन प्रतियोगितामा सहभागी हुन शुरु गरेकाे उनले बताए ।
बिकासको खेल यात्रा
। २०६७ चाैथाे मिष्टर पुर्वाञ्चल शारीरिक सुगठन प्रतियोगितामा उनले डेब्यु गरे ।
२०६७ सालमा एलाइनेट जिमको आयोजनामा भएको तेस्रो मिस्टर कोशी शारीरिक सुगठन प्रतियोगितामा उनी उपाधि बिजेता बन्न सफल भए ।
२०६८ सालमा धरान शारीरिक सुगठन संधको आयोजनामा भएको चौथो मिस्टर कोशी शारीरिक सुगठन प्रतियोगितामा हुने ६० केजी तौल समूहमा प्रथम हुँदै उपाधि बिजेता बन्न सफल भए ।
२०६८ सालमा भएको छैठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा ६० केजी तौल समूहमा स्वर्ण पदक जित्दै अल ओभरमा दोसो हुन सफल भएको थिए ।
२०६८ सालमा एलाइनेट जिमको आयोजनामा भएको तेश्रो पुर्वाञ्चल शारीरिक सुगठन प्रतियोगितामा उनि ६५ केजी तौल समूहमा प्रथम हुन सफल भएको थिए ।
२०६९ सालमा नेपाल शारीरिक सुगठन सङ्घको आयोजनामा धरानमा भएको चौथो मिष्टर हिमालय राष्ट्रब्यापी शारीरिक सुगठन प्रतियोगितामा उनी ६५ केजी तौल समूहमा कास्य पदक प्राप्त गरे ।
२०७० सालमा भएको चौधौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा उनी ६५ केजी तौल समूहमा सहभागिता जनाउँदै पाँचौं भएका थिए ।
२०७० सालमा एलाइनेट जिमको आयोजनामा भएको पाचौ मिस्टर पूर्वाञ्चल शारीरिक सुगठन प्रतियोगितामा उनले ६५ केजी तौल समूहमा प्रथम स्थान हासिल गर्दै अल ओभरमा दोसो हुन सफल गरेका थिए ।
२०७१ सालमा नेपाल शारीरिक सुगठन सङ्घको आयोजनामा काठमाडौंमा पाँचौं मिष्टर हिमालय राष्ट्रब्यापी शारीरिक सुगठन प्रतियोगितामा उनी ६५ केजी तौल समूहमा कास्य पदक प्राप्त गरे ।
२०७१ सालमा एलाइनेट जिमको आयोजनामा भएको छैठौं मिस्टर पूर्वाञ्चल शारीरिक सुगठन प्रतियोगितामा उनले ६५ केजी तौल समूहमा प्रथम स्थान हासिल गरेका थिए ।
२०७३ सालमा नेपाल व्यायाम मन्दिरले आयोजना गरेको चौधौ धर्मश्री राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगितामा उनि ६५ केजी तौल समूहमा तेश्रो स्थान प्राप्त गर्न सफल भए ।
२०७३सालमा एलाइनेट जिमको आयोजनामा भएको मिष्टर नेपाल शारीरिक सुगठन प्रतियोगितामा उनले ६५ केजी तौल समूहमा प्रथम स्थान हासिल अल ओभरमा तेस्रो हुन सफल भएका थिए ।
२०७४ साल बिर्तामोडमा सम्पन्न भएको प्रथम मिस्टर ग्यालेक्सी शारीरिक सुगठन प्रतियोगितामाको ओभरल बिजेता भएको थिए ।
२०७५ सालमा भएको तेस्रो बुल्समेन राष्ट्रब्यापी शारीरिक सुगठन प्रतियोगितामा उनी ६० केजी तौल समूहमा चौथो स्थान प्राप्त गरे ।
सन् २०१७ मा मंगोलियाको उलनबटारमा भएको ५१ औ एसियाली शारीरिक सुगठन प्रतियोगिता पुरुष क्लासिक अन्तरगत १६२ सेमी समूहमा उनी चौथो हुन सफल भएका थिए ।
खेलजीवनको सबैभन्दा सुखद क्षण स्मरण गर्दै धिमाल भन्छन्, " जीवनमा एकपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने रहर थियो ।नेपालबाट प्रतिनिधित्व गर्दै मंगोलियाको उलनबटारमा भएको ५१ औ एसियाली शारीरिक सुगठन प्रतियोगिता खेल्ने अबसर पाएँ। त्यो मेरो पहिलो अन्तराष्ट्रिय प्रतियोगिता र जीवनकाे हलसम्मकाे सबैभन्दा ठुलो उपलब्धि थियो । सहभागी हुन जाँदा चिनको ल्हासा, धिन्दु, बेजिङ्ग र मंगोलियाका मनमोहक दृश्य आजसम्म पनि मेरो मानसपटलमा ताजै छ ।“ उनले थपे, “सधै प्रतियोगिताको तयारीका क्रममा महिनै हामी खेलाडीहरुले उसिनेका र नुनतेल मसला नहालेका खानेकुरा खाइरहन्छौ । त्यसबेला हामीले गुलियो र पानी समेत बार्नु पर्छ। प्रतियोगिता सकिए लगतै नुन मसलायुक्त खाना र गुलियो खाएर टन्न पनी पिउँदा स्वर्गिए आनन्दको अनुभूति हुने गर्छ । "
आहार बारे चर्चा गर्दै उनी भन्छन् , "आहार यस खेलका खेलाडीका लागि अत्यन्त महत्वपुर्ण कुरा हाे । खेलाडीले खाने आहारमा उच्च फाइबरयुक्त खानेकुरा, फलफूल, तरकारी, भिटामिन ‘सी’, प्रोटिन तथा लो फ्याट डेयरी प्रोडक्टस् सेवन गर्नुपर्छ । पेटमा ग्यास तथा इन्फ्लेमेशनको समस्या निम्त्याउने फास्ट फूड, ब्रेड जस्ता खानेकुराहरुमा परहेज गर्नुपर्छ ।
वर्कआउट सुरु गर्नुभन्दा कम्तिमा आधा धण्टा अगाडि प्रिवर्कआउट आहार खानु राम्रो मानिन्छ । खालीपेट व्यायाम गर्दा शरीरलाइ चाहिने उर्जाको अभावमा प्रभावकारी व्यायाम हुन सकिँदैन । यस्ता प्रिवर्कआउट आहारका रुपमा हामीले फलफूल खाँदा राम्रो हुन्छ।"
उनको बिचारमा एउटा खेलाडीको करियरमा राम्रो र खराब दुवै समय आउँछ । शीर्षमा पुगे पछि कहिलेकाँही तल समेत झर्नुपर्छ तर हामी जीतमा अहंकारी र हारमा निराश हुन हुदैन । सबै चुनौतीहरुको सामना गर्न दृढ हुनुपर्छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)