बुटवल,जेठ २७-
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत गुमाएका छन् । उनको पक्षमा २७,बिपक्षमा ३० मत खसेको छ । उपस्थित ५८ सांसद मध्ये ५७ मत खसेको हाे ।
नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका गुरूङ नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि सरकार ढलेको हो। आज प्रदेश सभामा मुख्यमन्त्री गुरूङले विश्वासको मतको प्रस्ताव राखेका थिए। उक्त प्रस्तावमा मतदान भएको थियो। मतदानमा ५८ जना प्रदेश सभा सदस्य उपस्थित थिए भने ५७ जनाले मतदान गरेका थिए।
मुख्यमन्त्री गुरूङको पक्षमा २७ मत परेको छ भने विपक्षमा ३० मत परेको छ। मुख्यमन्त्री गुरूङलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदले भोट दिएका थिएनन्। ३ जना सांसद रहेको जनमोर्चाका एक सांसद भने तटस्थ बसेका छन्।
प्रदेश सभामा आज खेलकूद मन्त्री राजिव गुरूङ उपस्थित भएनन्। उनी स्वतन्त्र सांसद छन्।
प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे अनुपस्थित भए भने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ रहे । नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र राष्ट्रिय जनमोर्चाका सांसदहरु पियारी थापा र खिमविक्रम शाहीले भने विपक्षमा मतदान गरेका छन् ।
अब शुक्रबार बिहान ११ बजे प्रदेश सभाको बैठक बस्ने सभामुख नेत्रप्रसाद अधिकारीले बताए।
संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री गुरुङ पदमुक्त भएसँगै १६८(५) अनुसार नयाँ सरकार गठनको बाटो खुलेको छ ।
उपधारा ५ मा भनिएको छ, उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ’ भनिएको छ ।
अब प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभाको विश्वासको मत प्राप्त गर्ने आधारमा प्रस्तुत गर्न प्रदेशसभाका कुनै पनि सदस्यलाई आह्वान गर्नेछिन् ।
विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले दाबी गर्ने तयारी गरेका छन् । कांग्रेसका १५, माओवादी केन्द्रका ११ (सभामुखबाहेक), जनता समाजवादी पार्टीका २ र राष्ट्रिय जनमोर्चाका २ गरी ३० सांसद पोखरेललाई मुख्यमन्त्री बनाउन तयार छन् ।
मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारमा युवा तथा खेदकुदमन्त्री रहेका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले कित्ता परिवर्तन गरेर विपक्षी गठबन्धनतिर आएका छन् ।
यदि उनले साथ दिएमा मुख्यमन्त्री नियुक्तका लागि चाहिने ३१ मत विपक्षी गठबन्धनसँग पुग्छ ।
धारा १६८(५) मा मुख्यमन्त्री नियुक्त हुन नसकेमा भने संविधानको धारा १६८ (७)अनुसार प्रदेशसभा भंग हुनेछ र गण्डकी प्रदेशमा मध्यावधि निर्वाचन घोषणा हुनेछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)