बुटवल,जेठ २७-
गण्डकी प्रदेशसभा विपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमलाई समर्थन गरेका कारण गण्डकी प्रदेश सरकारको विकल्प खोज्नु अनिवार्य भएको बताएका छन् ।
उनले संविधान र लोकतन्त्रविरुद्ध उभिने संघीय सरकारलाई समर्थन गर्ने सबै प्रदेश सरकारको विकल्प खोज्नुपर्ने बताए ।
‘जसरी संघमा प्रधानमन्त्रीले संसद छलेर हिड्नुभयो त्यसरी नै मुख्यमन्त्रीजीले प्रदेशसभाको अवमूल्यन गरिरहनुभयो । संविधान, संसद र लोकतन्त्रसंग भागेर हिँड्ने सबै सरकारविरुद्ध हामीले मोर्चाबन्दी गरेका छौं’, नेपालीले भने ।
उनले मुख्यमन्त्रीले प्रदेशससभामा सुनाएका सफलता झूठो रहेको दावी समेत गरे । ‘सरकारले प्रदेशसभामा पढेर सुनाएका सफलताहरु जनताले अनुभूति गर्न पाएका छन् । भन्नका लागि सफल भयौ भनेर हुँदैन, गण्डकी प्रदेश सरकार असफल भएको छ’, उनले भने ।
नेपालीले बोलेसँगै विश्वासको मत सम्बन्धी प्रस्तावउपर धारणा राख्ने समय सकिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)