बुटवल,जेठ २४ ।
कार दुर्घटनापछि फरार रहेका कांग्रेसका प्रदेश सांसद विन्दिया कार्कीका छोरा रविनलाई प्रहरीले पक्राउ गरेको छ। चौतर्फी दबाबपछि काँग्रेस सांसद विन्दियाका छोरा रविनलाई प्रहरीले आइतबार पक्रेको हो।
उनले रक्सीले मातेर कार चलाउँदा त्यसको ठक्करबाट एक मजदुरको मृत्यु र अर्का एक गम्भीर घाइते भएका थिए। कार्कीलाई आइतबार अपराहन्न विराटनगरको बरगाछी घरबाट पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए।
कार्कीलाई ‘सवारी ज्यान मुद्दामा’ म्याद थप गर्ने भएको छ। ‘दुर्घटनामा संलग्नलाई पक्राउ गरी अहिले म्याद थप गर्न टोलीले कार्कीलाई अदालत लगेको छ,’ एसपी खड्काले भने, ‘म्याद थपेपछि थप अनुसन्धान गरिनेछ।’
बिहीबार राती साढे सात बजे प्रदेश सांसद कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिँदा ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो। त्यस्तै, मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए।
मृतक र घाइते विराटनगर–४ स्थित न्यु एभरेष्ट स्टिल उद्योगका कामदार हुन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)