१६ स्थानीय तहलाई ६ अर्ब ८२ करोड ९० लाख
बुटवल,जेठ १८-
सरकारले अध्यादेशमार्फत् ल्याएको आगामी आर्थिक वर्षको बजेटमा अर्थमन्त्रीकै जिल्ला रूपन्देहीका के-के याेजना समेटिए हाेलान् भन्ने धेरैलाई चासाे छ ।
सरकारले चालु आर्थिक वर्षको तुलनामा करिब २ खर्बले आकार बढाएर आगामी आर्थिक वर्ष ०७८-८९ को बजेट ल्याएको छ । अर्थमन्त्री बिष्णु पौडेलले १६ खर्ब खर्ब ४७ अर्ब ५७ कराेडको बजेट ल्याएका हुन् । चालु आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्बको आकारको बजेट थियो ।
अर्थमन्त्री विष्णु पौडेलले गृहजिल्ला पनि हो रुपन्देही । बजेटले नयाँ दर्जनौं र पुराना केही याेजनालाई अघि सारेको छ । रुपन्देहीमा बढीजसो बजेट बुटवल उपमहानगरपालिका र तिलाेत्तमा नगरपालिकामा बजेट केन्द्रित भएको देखिन्छ ।
बजेटले सबैक्षेत्रलाई समेट्ने प्रयास गरेको छ भने कोराेना महामारीमा केन्द्रित देखिएको छ । लुम्बिनी प्रदेशमा भने बजेटले नयाँ याेजनाभन्दा पुरानैलाई निरन्तरता दिएको छ ।
पौडेलले जेठ १५ गते गरेको बजेट भाषण अनुसार बुटवलसहितका ठूला शहरमा विद्युतको तार भूमिगत,नारायणगढ-बुटवल सडकखण्ड विस्तारलाई तीव्रता दिने, बुटवल-कोहलपुर खण्डको विस्तृत डिजाइन गरी निर्माण थाल्ने, बुटवल मेडिकल कलेजको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी निर्माण थालिने उल्लेख छ ।
त्यस्तैगरी बुटवल धागो कारखाना निजी क्षेत्रसँगको साझेदारीमा सञ्चालन गर्न प्रस्ताव आहृवान गर्ने, बुटवलसहितका सरकारी अस्पतालमा निःसन्तान दम्पत्तिका लागि आईभिएफ सेवा विस्तार गर्ने, बुटवल-काठमाडौं दूरी छोट्याउन दुम्कीबास-बर्दघाट सुरुङमार्गको अध्ययन गर्ने, बुटवल-लमही-कोहलपुर-अत्तरिया प्रसारणलाइन खण्ड निर्माणको पूर्व तयारी गर्ने,रुपन्देहीको कर्साघाटमा कृषि उपजको थोक बजार बनाउने, रुपन्देहीकै मोतीपुरमा औद्योगिक क्षेत्र बनाउने काम दुई वर्षमा सक्ने,बुटवल-भैरहवा लुम्बिनीसहितका ठूला सहरमा निजी क्षेत्रले ठूला विद्युतीय बस सञ्चालन गरे थप प्रोत्साहन अनुदान दिने भनिएको छ ।
रूपन्देही भैरहवा बेलहिया नाकामा २ हजार मालवाहक सवारीसाधन अट्ने पार्किङ यार्ड बनाउने,भैरहवा र नेपालगञ्जमा एकीकृत जाँचचौकी निर्माण गर्ने, बुटवलको जितगढी संरक्षण गर्न विस्तृत अध्ययन गर्ने, तिनाउ-दानव नदी नियन्त्रण आयोजना निर्माण गर्न पनि बजेट विनियोजन गरिएको अर्थमन्त्री पाैडेलले बताए।
लुम्बिनी सांस्कृतिक नगरपालिकालाई स्मार्ट सिटी बनाउने, सिद्धार्थनगर लगायत शहरीकरण भइरहेका नगरपालिकामा सडक, ढल, खानेपानी, मनोरञ्जनपार्क, बसपार्क, शिक्षा तथा स्वास्थ्य क्षेत्रका शहरी पूर्वाधार आयोजना कार्यान्वयन गर्ने सरकारको लक्ष्य छ ।
बुटवलका लागि झुम्साखोला खानेपानी आयोजनालाई निरन्तरता दिइने,बुटवल-भैरहवासहित नगरपालिकाहरूलाई मेगा सिटीमा विकास गर्ने गुरुयोजना तर्जुमा गर्न अन्तर्राष्ट्रिय शहरी योजनाविद्को परामर्श सेवा लिने,भैरहवामा क्रिकेट मैदान र सिद्धबाबामा सुरुङका लागि बाेलपत्र आब्हान भैसकेको कुरालाई पनि जाेडिएको छ ।
रूपन्देहीका स्थानीय तहले झन्डै ६ अर्ब ८२ करोड ९० लाख रुपैयाँ पाउने भएका छन् । संघीय सरकारले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि ल्याएको बजेटले वित्तीय समानीकरण अनुदान, स-सर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी ४ प्रकारका अनुदान स्थानीय तहलाई हस्तान्तरण गरेको हो ।
रूपन्देहीमा रहेका १६ स्थानीय तह मध्ये तिलोत्तमा नगरपालिकामा सबैभन्दा बढी बजेट विनियोजन भएको छ ।नगरपालिकालाई ८३ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन भएको हाेे । विभिन्न ४ प्रकारका मापदण्डका आधारमा बजेट विनियोजन हुने भएका कारण तिलोत्तमाले बढी बजेट पाएको हो ।
बुटवल उपमहानगरलाई ७८ करोड ९६ लाख बजेट विनियोजन भएको छ । देवदह नगरपालिकामा ४२ करोड ६० लाख, लुम्बिनी सांकृतिक नगरपालिकालाई ५४ करोड १५ लाख, सिद्धार्थ नगरपालिकालाई ५३ करोड ४३ लाख, सैनामैना नगरपालिकामा ४२ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
त्यस्तै, ओमसतिया गाउँपालिकामा २८ करोड ६० लाख, कञ्चन गाउँपालिकामा ३३ करोड ७५ लाख, कोटहीमाई गाउँपालिकामा २८ करोड ९० लाख, गैडहवा गाउँपालिकामा ३२ करोड ७८ लाख, मर्चवारी गाउँपालिकामा ३० करोड ९५ लाख, मायादेवी गाउँपालिकामा ३५ करोड ८८ लाख, रोहिणी गाउँपालिकामा ३४ करोड १९ लाख, शुद्धोधन गाउँपालिकामा ३१ करोड ४३ लाख, सम्ममरीमाई गाउँपालिकामा ३२ करोड ७५ लाख र सियारी गाउँपालिकाले ३८ करोड ५० लाख रुपैयाँ बजेट पाएका छन् ।
सम्बन्धित समाचारहरु :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)