बुटवल,जेठ १७-
लुम्बिनी प्रदेशमा सम्पन्न राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डे बिजयी भएका छन्।उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराएका हुन्। पाण्डेको मतभार ४१४० र खड्काको ३६१२ रहेको छ । २ भाेट बदर भएको छ । कुल ३ सय मतदाता रहेकोमा २९६ जनाको मत खसेको थियो ।
विजयी पाण्डे कांग्रेससहितको गठबन्धनका उम्मेदवार हुन् । उनले सत्तारुढ नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरे । पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।
बाँकेको नेपालगञ्ज उपमहानगरका मेयर धवलशंसेर राणा, बांकेकै नरैनापुर गाउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाह र गुल्मीको गुल्मीदरवार गाउपालिकाका अध्यक्ष अशोक थापाले मतदान गरेनन् ।

विजयी पाण्डेले यो जित लोकतन्त्र र प्रजातन्त्रको जित भएको बताएका छन् । सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले राष्ट्रियसभामा गएर संघीयता, गणतन्त्र लगायतका मुद्दाहरूलाई सशक्त ढंगले उठाउने बताए ।
‘यो प्रजातन्त्रको जित हो । लोकतन्त्रको जित हो । सबै मतदाताको जित हो’, सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चा, स्वतन्त्र लगायत सबै मतदातामा धन्यवाद दिन चाहन्छु । उहाँहरुले मलाई विश्वास गरेर र काँग्रेस पार्टीले पनि विश्वास गरेर अमूल्य मत दिनुभयो, त्यसको लागि म धन्यवाद दिन चाहन्छु ।’
अहिलेको अवस्थामा संघीयता, गणतन्त्र लगायतका मुद्दाहरु ओझेलमा परेकाले त्यसको रक्षाका लागि राष्ट्रियसभा सदस्यको हैसियतले पहल गर्ने उनको भनाइ थियो । ‘अहिले संघीयता, गणतन्त्र लगायतका जुन मुद्दाहरु ओझेलमा रहेका छन्, ती सबै मुद्दाहरूलाई हामी सबैको प्रयासबाट राष्ट्रियसभामा उठाउँछौँ’, उनले भने ।
यी समाचार पनि पढ्नुस् :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)