बुटवल,असाेज २-
नेपाली राजनीतिका आदर्श पुरुष एवं जनआन्दोलनका सर्वोच्च कमान्डर वीर गणेशमान सिंहको २३ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
लौहपुरुष गणेशमान सिंहको स्मृतिको अवसरमा नगर समितिद्वारा आज बिहान बुटवलकाे नगर पार्टी कार्यालय गणेशमान स्मृती भवनमा आयाेजित कार्यक्रममा स्व.गणेशमानकाे शालिकमा माल्यार्पण गरिएकाे छ ।
माल्यार्पण कार्यक्रममा बाेल्दै प्रमुख अतिथि नेपाली कांग्रेस रुपन्देही २ का क्षेत्रिय सभापति हरि लम्सालले नेपालमा प्रजातन्त्र पुनर्वहालीका लागि गणेशमान सिंहले खेलेको नेतृत्वदायी भूमिकाको स्मरण गर्नुभयाे । उहाले अन्यदलले गणेशमानकाे त्याग र इमान्दारिता कस्ताे थियाे भन्ने कुरा सिक्न जरुरी रहेकाे बताउनुभयाे ।
उक्त माल्यार्पण कार्यक्रममा कांग्रेस नगर सभापति खेलराज पाण्डेयले वामपन्थीहरुसँग सहकार्य गरेर २०४६ सालको जन आन्दोलनलाई सफल बनाउन सुप्रिम कमाण्डरको भूमिका निर्वाह गर्नु भएका स्वर्गीय गणेशमान सिंहलाई नेपाल राष्ट्रले सर्वमान्य नेताको रुपमा स्मरण गर्दै आएको बताउनुभयाे ।
नगर सचिब ज्याेति भण्डारीले सिंहले देशप्रतिको निःश्वार्थ र समपर्ण भाव अनुसार नेताहरु अघि बढे मुलुकले राम्रो निकास पाउने बताउनुभयाे । सभापति पाण्डेयकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे संचालन सचिब भण्डारीले गर्नुभएकाे थियाे ।
काे हुन् गणेशमान सिंह ?
गणेशमान सिंह विसं १९७२-२०५४० नेपालका बरिष्ठ राजनीतिज्ञ, प्रजातन्त्रको योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर थिए । काठमाडौँको खानदानी परिवारमा जन्मेका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने राजनीतिमा आफूलाई होमेका थिए ।
भद्रगोल जेल फोरी भागेका जोशिला तन्नेरी गणेशमान प्रबास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनका एक नायक भैसकेका थिए । भारतमा अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित हुनासाथ अन्य केही सहयोगीसाथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको छ ।
२००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले बीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए। संर्घषका हिसाबले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुर्नबहाली लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला र्समर्थकका रूपमा नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशिल रहे। पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री रहेका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्षनिरन्तर काराबास भोगे ।
त्यसपछि पुनः प्रबासमा राजनीतिक सङ्गठन विस्तार गरी २०३३ सालमा बीपीसँगै राष्टिूय मेलमिलापको नारा लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती ब्यबस्थाका बिरूध्द सक्रिय रहे ।
तत्कालीन पञ्चहरूबाट बीपीसँगै मृत्युदण्डको माग गरिएका गणेशमानले २०३६ सालको बिद्यार्थी आन्दोलन र जनमत संग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन आरम्भ गरेका थिए।
१९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका र्सवप्रिय नेता गणेशमानको अर्को महत्त्वपूर्ण योगदान २०४६ सालमा रहेको थियो। राष्टिूय जनआन्दोलनका लागि कम्युनिष्टहरूसँग मिलेर पञ्चायत बिरूध्द आन्दोलनको घोषणा गर्ने गणेशमानसिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर थिए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)