बुटवल,जेठ १३-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति बिद्यादेवी भण्डारीको कदमप्रति आपत्ती जनाएका छन् । राष्ट्रपतिले सांसदको समर्थनलाई भेरिफाइ नगरि सरकारको सिफारिसमा मध्यरातमा प्रतिनिधि सभा विघटन गर्नू गलत कदम भएको देउवाको भनाइ छ।
देउवाले बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री दाबी गरे पनि राष्ट्रपतिले आफूलाई प्रधानमन्त्री नियुक्त नगरेको बताएका छन्।
संविधानको धारा ७६ को ५ अनुसार १४९ सांसदको हस्ताक्षर आफूले राष्ट्रपतिकहाँ बुझाए पनि कुनै भेरिफाइ नगरी राष्ट्रपतिले सरकारको सिफारिसमा मध्यरातमा प्रतिनिधि सभा विघटन गरेको देउवाको भनाइ छ।
प्रेस युनियनको ३१ औं स्थापना दिवसमा आज भर्चुअल सम्बोधन गर्दै देउवाले भने-‘हामी संविधानको धारा ७६ को ५ अनुसार सांसदको हस्ताक्षर लिएर राष्ट्रपतिकोमा गएको हो, ‘यो निर्दलीय अभ्यास होइन। संविधानकै धाराअनुसार हो। निर्दलीय भन्नेहरूले संविधानको धारा ७६ को ५ पढ्नु त्यहाँ कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गरेमा त्यस्तो सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्छ भन्ने छ।’
गत शुक्रबार देउवा १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री दाबी गर्न राष्ट्रपति कार्यालय गएका थिए। प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रधानमन्त्री दावीसहित गएका थिए।
दुवैको दाबी नपुग्ने भन्दै सरकारको सिफारिसमा राष्ट्रपतिले मध्यरातमा प्रतिनिधि सभा विघटन गरेकी थिइन्।वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरेको र आफूलाई बहुमत सांसदको समर्थन हुँदा पनि प्रधानमन्त्री नियुक्त नगरेकोमा देउवा सर्वोच्चमा गएका थिए।
राष्ट्रपतिले सांसदको समर्थन छ कि छैन भन्ने भेरिफाइ नगरेकोमा देउवाले असन्तुष्टिसमेत जनाएका छन्।
‘बरू राष्ट्रपतिले भेरिफाइ गरेको भए हुन्थ्यो। सांसद बोलाएको भए पनि हुन्थ्यो,’ उनले भने, ‘राति विघटन गर्नुभयो। राष्ट्रपतिजस्तो व्यक्तिले यसरी प्रधानमन्त्रीले भन्दैमा संविधानको ठाडो उलंघन गर्नुभएको छ।’ संविधानमाथि हस्तक्षेप भएको र राजनीतिक संकट आइपरेकोले आफू अदालत गएको देउवाको भनाइ छ।
यी समाचार पनि हेराैँ:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)