बुटवल,जेठ ११-
केपी शर्मा ओलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका भैरहवामा २०७३ फागुन ३० गते आइतबार गरेको एउटा भिडियाे क्लिप अहिले भाइरल बनेको छ ।
२०७३ फागुुनमा तत्कालीन प्रमुख प्रतिपक्षी एमालेले ‘मेची–महाकाली अभियान’ नै चलाएको थियो। भैरहवामा भएको आमसभामा तत्कालीन प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकताका सवालमा कडा आलोचना गरेका थिए। तर उनै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि जन्मसिद्धका आधारमा नागरिकता दिने व्यवस्थालाई अध्यादेशमार्फत सम्बोधन गरेका छन्।
निर्वाचनका बेला नागरिकताबारे बोलेको कुरा उनकै शब्दमा-
उहिले–उहिले राजा-रानीको जन्म दिवसमा केटाकेटीलाई स्कुलमा भेला गरेर चकलेट बाँडिन्थ्यो । नागरिकता चकलेट होइन, बोर्डरमा बसेर आउने जतिलाई दिँदै जाने ।
हरेक नेपाल जनतालाई नागरिकता दिनुपर्छ, सरकारले दिन्छ र दिइनेछ नागरिकता । कुनै समस्या छैन । बैबाहिक अंगीकृतलाई भारतमा ७ वर्षयता नागरिकता मिल्दैन, हामी आउनेबित्तिकै उसै बेला नागरिकता दिन्छौं । तर, मन्त्री हुन पाँच वर्ष पर्खिनुपर्छ । मधेसी मोर्चाको यत्रो रडाको के छ भने हामीले उताबाट ल्याएका बुहारीहरूलाई पाँच वर्ष किन पर्खिने ? बिहे गरेको भोलिपल्ट मन्त्री बनाउनु पाउनुपर्छ ।
अहिले पनि १२-१३ जना बुहारीहरू सांसद हुनुहुन्छ । एउटी बुहारी मन्त्री हुनुहुन्छ । नेपाली काँग्रेसको नेता हुनुहुन्छ । ज्वाइँहरूको त कुरै नगरौं, भरमारै छन् । अब यति त भयो–भयो नेपाली नै हुनै नपाउने, उत्तिखेरै ल्याउनुपर्ने । माग यस्तो के हो यो ? त्यसकारण यो पनि ठीक छैन । यो स्वीकार्न सकिँदैन ।
संसारमा कहीँ पनि उडेर आइपुग्नेवित्तिकै नागरिकता दिइँदैन । कहीँ पनि हुँदैन संसारमा । तर, नेपालमा आइपुग्नेवित्तिकै दिने त गरि नै सकेका छौं । त्यो मात्रै होइन अब, आइपुग्नेवित्तिकै सांसद, मन्त्री पनि बनाउनुपर्ने ।
अब यो सिद्धार्थनगर नगरपालिकामा सांसद को बनाउनुपर्ने उतैबाट तोकिन्छ । एउटा केटासँग बिहे भयो भनिन्छ अनि नागरिकता दिइन्छ, विवाह दर्ता गरेर । त्यसपछि उम्मदेवार बनाइन्छ । यस तरिकाले चल्ने हो ? यहाँ नेपाली छैनन् ? नेपालीले गर्न सक्दैनन् ? यहाँका समुदाय छैनन् ? त्ययसकारण हामी कुनै पनि कुरामा भ्रममा पर्नुहुँदैन ।
भिडियाे हेराैँ-
https://www.facebook.com/nagarikonline/videos/148482857262989
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)