बुटवल,जेठ ६-
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नेपाली कांग्रेसले निर्वाचन आयोगमा उजुरी दिएको छ। मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादलका पक्षमा भोट मागेको भन्दै कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलले आयोगमा निवेदन दिएको हो।
बागमती प्रदेशमा रिक्त एक सदस्यका लागि आज उपनिर्वाचन भएको थियाे ।
कांग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दलको कार्यालयका स्वकीय सचिव सन्जिव बश्यालले आयोगमा आज उजुरी दर्ता गरेको नागरिक अनलाइनलाई जानकारी दिए ।
‘मुख्यमन्त्री शंकर पोखरेलले फेसबुकमार्फत् मौन अवधिमा आफ्ना उम्मेदवारको पक्षमा मत माग्नु भएकोले निर्वाचन आचारसंहिताको उल्लंघन भएको छ,’ आयोगमा कांग्रेसले दर्ता गरेको पत्रमा उल्लेख छ।
निर्वाचन आचारसंहिताअनुसार मुख्यमन्त्री पोखरेललाई कारवाही गर्नसमेत कांग्रेसले माग गरेको छ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगले निर्वाचन आचार संहिता, २०७२ को दफा ५ घ ३ र ५ र दफा ६ विपरीत कार्य गर्ने जो कोहीलाई कारवाही गर्न यो बैठक जोडदार माग गर्दछ ।’
उता काठमाडाैँमा काँग्रेस संसदीय कार्यसमिति बैठकले निर्वाचन आचारसंहिता विपरित वक्तव्य दिने प्रधानमन्त्री केपी ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई निर्वाचन आयोगले कारबाही गर्नुपर्ने ठहर गर्दै आयोगमा उजुरी दिएको थियाे ।
पत्र हेराैँ :
जेठ ६, २०७८
पत्र संख्या: ०७७।७८
चनं :१५
माननीय प्रमुख निर्वाचन आयुक्त ज्यू,
निर्वाचन आयोग, नेपाल,
कान्तिपथ, काठमाडौं ।
विषय : निर्वाचन आचार संहिता उलंघन गरेकोमा कारवाही सम्बन्धमा ।
महाशय,
उपर्युक्त विषयमा बागमती प्रदेशमा रिक्त रहेको एक जना राष्ट्रिय सभा सदस्यको लागि आज मतदान हुँदैछ । निर्वाचन आचार संहिताले मतदान हुनु पूर्व ४८ घण्टालाई मौन अवधिको समय तोेकेको छ । यस अवधिमा निर्वाचन प्रचार प्रसार, सामाजिक सञ्जाल वा कुनै पनि विद्युतीय माध्यमबाट समेत मत माग्न निषेध गरेको छ । यसै सन्दर्भमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलज्युले सामाजिक सञ्जाल फेसबुक मार्फत मौन अवधिमा आफ्ना उम्मेदवारको पक्षमा मत माग्नु भएकोले निर्वाचन आचार सहिंताको ठाडो उलंघन भएको छ ।
निर्वाचन आचार संहिता पालना गर्नु हामी सबैको साझा कर्तव्य हो र स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व हो । आचार संहिता विपरित प्रदेश सरकार प्रमुखले नै अमुक उम्मेदवारलाई नै विजय गराउन मतदाताहरुलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचनको आधारभूत सिद्धान्त विपरित भएको छ ।
यसकारण निर्वाचन आयोगलाई निर्वाचन आचार संहिता, २०७२ को दफा ५घ ९३० र ९५० र दफा ९६० बमोजिम लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई कारवाहीको लागि अनुरोध गरिन्छ ।
सन्जीब बश्याल
(स्वकीय सचिव)
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)