बुटवल,जेठ ४-
निषेधाज्ञाको अवज्ञा गरी रेस्टुरेण्ट सन्चालन गर्दा बुटवलमा एक ब्यबसायी कारबाहीमा परेका छन् । सन्चालक र ग्राहक दुवैले जरीवानासहितको कारवाही भोगेका हुन् ।
कोरोना संक्रमण बढ्दै गएपछि रूपन्देहीमा बैशाख १६ गतेदेखि जेठ १४ गतेसम्म निषेधाज्ञा जारी छ ।
बुटवल उपमहानगरपालिका वडा नं ९ मिलनचोकस्थित सेराज रेष्टुरेण्ट खोलेर अनावश्यक भिडभाड गर्ने सञ्चालकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेर जरीवाना तिराएको हो । ग्राहकहरुलाई भने प्रहरीले सम्झाई बुझाई छाडिदिएको हो ।
पक्राउ पर्नेमा गुल्मीको रेसुङ्गा नगरपालिका–८ स्थायी घर बुटवल उपमहानगरपालिका–४ वस्ने ४४ वर्षीय होटल सन्चालक शेर बहादुर भण्डारी, स्याङ्जा चापाकोट नगरपालिका– १० स्थायी घर भई बुटवल उपमहानगरपालिका–११ वस्न ४० वर्षीय होटल सन्चालक शम्भु भट्टराई र उक्त होटलका बारटेण्डर रुकुम मगर छन् ।
संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाइएकोमा जिल्ला प्रशासनले उनीहरुलाई १ महिना कैद वा सो बराबरको जरिवाना अनुरुप जनही ९ हजार १०० जरिवाना तोकिएको थियो ।
जरिवाना बाफतको २७ हजार ३ सय जरीवाना तिरेर उनीहरु हिजै साँझ रिहा भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले नागरिक अनलाइनलाई जानकारी दिए।
रेस्टुरेन्टमा भीड भइरहेको भेटिएपछि वडा प्रहरी कार्यालयबाट गस्तीमा निस्किएको प्रहरी टोलीले बन्द गर्न अनुरोध गर्दा उल्टै प्रहरीमाथि अवरोध गर्न खोजेपछि उनीहरु पक्राउ परेका हुन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)