बुटवल, बैशाख ३१-
नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । सपथ भने आज अपरान्ह २ बजे हुनेछ ।
प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरेकी थिइन् । वैकल्पिक सरकार गठनको प्रयासमा जुटेका नेपाली कांग्रेस र माओवादी केन्द्र बहुमत जुटाउन असफल भए ।
जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो पक्षले नयाँ सरकार गठनका लागि साथ दिएन भने एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले वैकल्पिक सरकार गठनका लागि बहुमत पुग्ने गरी राजीनामा दिएनन् । बहुमत नपुग्ने भएपछि कांग्रेस-माओवादी गठबन्धनले सरकारका लागि दाबी नै गरेन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)