बुटवल,बैसाख २३-
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख र उपप्रमुखले चढ्दै आएका २ सरकारी गाडीहरु एम्बुलेन्सको रूपमा प्रयोग गरिने भएको छ । अबदेखि ती गाडी कोरोना संक्रमित बिरामी बोक्नका लागि प्रयोग गरिने छ ।
नगर प्रमुख बासुदेव घिमिरेले चढ्ने लु१ज ३६० र उपप्रमुख जागेश्वरदेवी चौधरीले चढ्ने लु१झ ३२६ नम्बरको स्कारपियोलाई एम्बुलेन्सको रूपमा प्रयोग हुनेछन् ।
नगर प्रमुख बासुदेव घिमिरे नागरिक अनलाइनसँग भन्छन्-‘ हामी यी सरकारी गाडीमा चढ्नुभन्दा एम्बुलेन्सको रूपमा प्रयोग गरे बिरामी एम्बुलेन्स नपाएर छ्टपटिँनु पर्दैन,अप्ठ्यारो परिस्थितिलाई केही सहज बनाउने अपेक्षा छ ।’
संक्रमित बाेक्न अरु गाडी सहज नहुने र आफूहरुले बैकल्पिक सवारी प्रयाेग गर्न सकिने उनको भनाई छ ।
उनले २४ घण्टामा जुनसुकै बेला संक्रमित बिरामीले फोन गरे गाडी तुरुन्तै घरमा पुग्ने समेत जानकारी दिए । नगरपालिकाका आफ्नै २ वटा एम्बुलेन्स पनि छन् । तिलोत्तमामा अहिले बुटवलपछि सबैभन्दा बढी संक्रमित थपिँदै गएका छन् ।
नगरमा दैनिक २०० भन्दा बढी संक्रमित छन् । नगरपालिकाले हालै ४० शय्यामा अक्सिजन सहितको अस्पताल सञ्चालनमा ल्याएको प्रमुख घिमिरेले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)