गुल्मी,बैसाख १९-
गुल्मीमा गए रातिदेखि निषेधाज्ञा शुरु भएको छ । विश्वभर फैलिदै गएको कोरोना भाइरसको दोस्रो लहर समुदाय स्तरसम्म फैलीएपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले शनिवार राति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारि गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनु भएको छ ।
जिल्लामा निषेधाज्ञा शुरु गएपछि आईतवार विहानैदेखि जिल्लाको जनजीवन सुनसान बनेको छ । अत्यावश्यक काम बाहेक कोही पनि मानिस घरबाहिर निस्केका छैनन् । अत्यावश्यक दैनिक उपभोगका खाद्य सामग्री, दुध, फलफुल, तरकारी, पेट्रोलीयम पदार्थ, तथा निर्माण सामग्रिका पसलहरु दैनिक एक पटक विहान ७ देखि ९ बजेसम्म मात्र संचालन गरिने भएको छ । वैंक तथा वित्तीय संस्थाहरुको हकमा विहान १० बजेदेखि १२ बजेसम्म मात्र संचालन हुने छन् । अत्यावश्यक काम बाहेक जिल्लामा सरकारी कार्यालयहरुवाट प्रदान गरिने सेवा समेत बन्द हुने भएका छन् ।
जिल्लामा लामो तथा छोटो दुरिका सम्पुर्ण सवारी साधनहरु सञ्चालनमा रोक लगाईएको छ भने एम्बुलेन्स, प्रेस, दुध र पानी बोक्ने गाडीहरु भने निर्वाध रुपमा संचालन भएका छन् ।
पछिल्लो समयमा गुल्मीमा कोभिड सङ्क्रमणका कारण आईतबार बिहानसम्म सम्ममा १० जनाको ज्यान गईसकेको छ भने जिल्लामा २ सय ३० जनामा कोरोना भाइरसवाट संक्रमित भएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा.भवानी प्रसाद शर्माले बताउनु भएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)