बुटवल,बैसाख १८-
कोरोना भाइरस संक्रमण रोकथामका लागि शनिबार बिहानदेखि बैशाख २४ गते राती १२ बजेसम्मका लागि पाल्पा जिल्लाभर निषेधाज्ञा लगाइएको छ ।
प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयका अनुसार निषेधाज्ञा अवधिभर औषधोपचार र अन्य अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन निषेध गरिएको छ । सबैखाले सार्वजनिक र निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रजिअ पाण्डेयको आदेशमा उल्लेख छ ।
जिल्लामा हुने सबै प्रकारका गोष्ठी, तालिम, सभा, सम्मेलन, सेमिनार गर्न, मानिसहरू जम्मा हुन, भिडभाड गर्न, जात्रा–महोत्सव गर्न तथा कुनै पनि प्रकारका खेलकुद सञ्चालन गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
सिनेमा हल, पार्टी प्यालेस, होटल, रेस्टुरेन्ट, जिमखाना, ब्युटिपार्लर, सैलुन, सुनचांदी पसल, टेलरिङ, फुटपाथ पसललगायत नखोल्न निर्देशन दिएको छ ।
निषेधाज्ञामा स्वास्थ्य, खानेपानी, दूध, विद्युत्, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन तथा इन्धन क्षेत्र, एम्बुलेन्स, स्वास्थ्यकर्मी,औषधी तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानीका साधनहरू भने सञ्चालन गर्न पाइने विज्ञप्तिमा उल्लेख छ । अति आवश्यकीय खाद्य सामग्री दूध, फलफूल, तरकारी, माछा, मासु, पानी, ग्यांस, पेट्रोलियम पदार्थलगायतको कृत्रिम अभाव हुन नदिन पाल्पा व्यापार संघ र पाल्पा उद्योग वाणिज्य संघलाई व्यवस्थापन मिलाउने भनिएको छ ।
विवाह, ब्रतबन्ध एवम् अन्य संस्कारजन्य कार्यक्रमहरु घरमै संचालन गर्नुपर्ने र त्यस्ता कार्यक्रममा स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य रुपमा अपनाई २५जना भन्दा बढी सहभागी हुन पाइने जिल्ला कोभिड व्यवस्थापन समितिले निर्णय गरेको छ ।


नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)