बुटवल,बैसाख ३ -
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट नहटाएसम्म देश शान्त नहुने बताएका छन् ।
संसदीय विधिबाटै ओलीलाई हटाउन प्रयास गर्नुपर्ने उनले बताए । शुक्रबार बुटवलमा पत्रकारहरुसंग कुराकानी गर्दै नेता सिंहले अन्य दलसँग मिलेर कांग्रेसले सरकारको जिम्मेवारी लिनुपर्ने बताए ।
उनले अहिलेको अवस्थामा ओलीसंग मिलेर सरकारमा जानेहरु जनतावाट नाङगिने बताए । उनले भने -संसद विघटन जस्तो संविधान विरोधी कदम चालेपछि सडकमा उत्रिएका दलहरु फेरि ओलीसंगै मिलेर सरकारमा जाने कुरा हुदैन , जो जान्छ उ जनतावाट नाङगिन्छ ।
उनले जसपा ओलीको ललिपपमा फस्न खोजे ठुलो राजनितिक अपरिपक्कता हुने बताए । संविधान विपरीत कदम चालेर आफ्नो दम्भ देखाउने केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट पार्टीले लगाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा भाषणमा सीमित भएको उनको आरोप छ ।
उनले पार्टीभित्रैका अग्रज नेताले पद हस्तान्तरणको भूमिका निर्वाह गर्न नसक्दा समस्याको निकाश आउन नसकिरहेको बताए । उमेरको वरीयता देखाएर पदमा बसिरहनु पार्टी, नेता र कार्यकर्ता कसैका लागि पनि उचित नहुने भन्दै उनले अबको नेतृत्व गर्न सभापति देउवा र वरिष्ठ नेता पौडेलले अन्यलाई पालो दिनुपर्ने बताए ।
नेता सिंहले अग्रजले पत्याएर राजी भए आफू कांग्रेसको नेतृत्व लिई अघि बढ्न तयार भएको बताए । निरन्तर पार्टीकै काममा खटिरहेकाले आफूलाई अघि बढाएर कांग्रेसले पुस्ता हस्तानतरणको अभ्यास अँगाल्नुपर्ने बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)