बुटवल,बैसाख २-
बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा थप एक जना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीमा हालसम्म १५७ जना कारोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । उनी पर्वत पैयुँ-५ का ३८ वर्षीय पुरुष हुन् ।उनको बुधबार उपचारका क्रममा मृत्यु भएको हो । उनी हालै मात्र भारतबाट घर फर्केका थिए ।
१० दिनदेखि उच्च ज्वरो आए पनि उनको ५ दिन अघिमात्र स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
चैत २९ गते लुम्बिनी प्रादेशिक अस्पतालद्वारा बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका उनको बुधबार साँझ ६ः२० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए ।
उनमा निमोनिया र खोकीको समेत समस्या रहेको प्रवक्ता गौतमले जानकारी दिए । कोरोना अस्पतालमा तीन दिनअघि मात्रै तीनजना संक्रमितको मृत्यु भएको थियो ।
यसैबीच रुपन्देहीमा बुधबार ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार ४८ जनामध्ये बुटवल उपमहानगरका मात्रै २१ जना छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)