बुटवल,वैशाख १ ।
रुपन्देही-पाल्पाका टिप्पर व्यवसायीहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई निर्माण सामाग्री सहयोग गरेका छन् ।
तिनाउ क्षेत्रमा संचालित ५३ वटा टिप्परमा ढुंगा, गिट्टी, बालुवा लगायतका निर्माण सामाग्री लिएर व्यवसायीहरु चितवनमा निर्माणाधिन रंगशालामै पुगेर धुर्मुश सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरेका हुन् ।
व्यवसायीहरुले झण्डै १५ लाख बराबरको निर्माण सामाग्री र २ लाख बढी नगद समेत हस्तान्तरण गरेको तिनाउ क्षेत्र टिप्पर व्यवसायी समूहका अध्यक्ष अरबिन्द पाण्डेले बताए ।
जनस्तरबाट सहयोग संकलन गरी निर्माण भइरहेको रंगशालालाई आवश्यक निर्माण सामाग्री सहयोग गरी राष्ट्र निर्माणमा उत्साहका साथ लागि रहेको धुर्मुश सुन्तली फाउण्डेशनको उत्साह बढाउने उद्देश्यले सो कार्यक्रम गरिएको अध्यक्ष पाण्डेले बताए ।
टिप्पर व्यवसाय र चालकप्रति समाजको हेर्ने दृष्टिकोण राम्रो नरहेको अवस्थामा सकारात्मक सोंचको विकास गर्न र राष्ट्र निर्माणमा हामी पनि सहभागि हुन सक्छौं भन्ने सन्देश प्रवाह गर्न उक्त निर्माण सामाग्री हस्तान्तरण कार्यक्रम गरिएको कार्यक्रम संयोजक तोया लम्सालले बताए ।
सधै सडकमा निर्माण सामाग्री बोकेर दौडिने टिप्परहरुले पैसाकै लागि मात्र दौडिन्छन भन्ने जुन आरोप खेपिरहेका छन् त्यसलाई परिवर्तन गर्न परिवर्तन आफुबाटै सुरु गर्नुपर्छ भन्ने उद्देश्यले पनि यो कार्यक्रम गरिएको संयोजक लम्सालले बताए ।
निर्माण सामाग्री हस्तान्तरणपछि टिप्पर व्यवसायी र चालकहरुलाई स्वागत तथा सम्मान गर्दै धुर्मुश सुन्तली फाउण्डेशनका अध्यक्ष एवं चर्चित कलाकार सिताराम कट्टेल धुर्मुशले जनस्तरबाट निर्माण गर्न लागिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला राष्ट्रको गौरव रहेको बताए ।
सबै मिलेर निर्माण सम्पन्न गर्न आवश्यक रहेको बताउँदै उनले निर्माणाधिन रंगशाला खेलमैदान मात्रै नभइ ७ प्रदेश, ७७ जिल्लाको प्रतिनिधित्व, संस्कृति झल्काउने राष्ट्रिय पहिचान र पर्यटन केन्द्र समेत बन्ने उल्लेख गरे ।
कार्यक्रममा धुर्मुश सुन्तली फाउण्डेशनका उपाध्यक्ष कुन्जना घिमिरे सुन्तली, तिनाउ गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष राजेश श्रेष्ठ, अर्का वडाध्यक्ष प्रेम पाण्डे, समुहका अध्यक्ष अरबिन्द पाण्डे, कार्यक्रम संयोजक तोया लम्साल लगायतले धुर्मुश सुन्तली फाउण्डेशनको कार्यको सराहाना र उच्च प्रसंसा गर्दै थप सहयोग गर्ने आशा र प्रतिबद्धता समेत व्यक्त गरेका थिए । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)