बुटवल,चैत्र ७-
मनाङको मर्स्याङ्दी नदीमा शनिबार दिउँसो ट्रक खस्दा तीन जनाको मृत्यु भएको छ।
दिउँसो साढे ३ बजे नासो गाउँपालिका-३ खोत्रोमा सिमेन्ट लोड गरेर लम्जुङबाट चामे जाँदै गरेको ध १ ख ५९२ नम्बरको ट्रक खसेको नदीमा खसेको हो।
प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुसार उकालो चढ्नेक्रममा अनियन्त्रित हुँदै ब्याक भएर खोलामा ट्रक खसेको हो।ट्रक खस्दा तीन जनाको मृत्यु भएको डिएसपी खड्काले जानकारी दिए। अन्य पाँच जना घाइते भएका छन्। घाइतेहरूको उपचारका लागि एम्बुलेन्समार्फत लम्जुङ पठाइएको छ।
डिएसपी खड्काका अनुसार ट्रक अन्दाजी १ सय ५० मिटर तल मर्स्याङ्दी नदीमा खसेको हो।
मृत्यु हुनेमा नासो गाउँपालिका ४ ओडार बस्ने ३५ वर्षीया मनिषा गुरूङ, ३६ वर्षीया लालकाशी गुरूङ र अन्दाजी ६र७ वर्षीय थिउन गुरूङ रहेका छन्।
थिउन मनिषाका छोरा हुन् भने लालकाशी र थिउन दिदीबहिनी हुन्। प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)