बुटवल,फागुन २८ -
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा अनिष्ट भैरहेकाे दाबी गरेका छन् ।
देशमा हुनै नसक्ने कुरा हुन थालेको छ उनले भने -’केही अनिष्ट हुँदैछ कि भन्ने संकेत होइन र यो ? हेर्दै जाउँ, अझ के-के अस्वाभाविक परिघटना देख्नुपर्ने हो ।’
बुटवलमा शुक्रबार राष्ट्रिय दलित पत्रकार संघको पहिलो राष्ट्रिय महाधिवेशनकाे उद्घाटन गर्दै प्रचण्डले देशमा परिवर्तन उल्ट्याउने षडयन्त्र भइरहेको दाबि गरे ।
गणतन्त्र, संघीयता, समानुपातिक, समावेशी मन नपराउने देशभित्रका प्रतिक्रियावादीहरु र देशबाहिरका दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरु मिलेर परिवर्तन उल्ट्याउन खोजेको दाहालको भनाइ छ ।
मुलुकमा परिवर्तन ल्याउने नेताहरूलाइ बद्नाम गर्ने र घेराबन्दी गर्ने कसरत भइरहेको र सबैभन्दा धेरै घेराबन्दी आफूमाथि भएको उनको भनाइ छ ।
१२बुँदे समझदारी र शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला जीवित नरहेको भन्दै उनले भने, ‘म अहिले जीवितै छु र अहिले यो परिवर्तन उल्ट्याउन सबैभन्दा घेराबन्दी ममाथि भइरहेको महसुस गर्छु ।’
सर्वोच्च अदालतले गरेको पछिल्लाे फैसलाबारे भने-‘जन्माइसकेको बच्चालाई फेरि आमाको गर्भमा लगिदिने अनौठो र अस्वाभाविक परिघटना देख्नु परेको छ । त्यस्तो हुन्छ ? ’
संविधानको रक्षा गर्ने कि हत्या गर्ने भन्ने बहस भइरहेको भन्दै उनले आन्दोलनको आँधीबेहरी सृजना गर्ने दिन आउन सक्ने बताए ।शान्तिपूर्ण आन्दोलनको आधि बेहेरी ल्याएर भएपनि संविधानको रक्षा गर्ने बताए ।
दलित, मधेशी , मुस्लिम ,महिला तथा पिछडिएका वर्गको उत्थानको लागि संविधान रक्षाको आवश्यकता रहेको समेत बताए ।सडकबाट रङ्गिन शान्तिपूर्ण आन्दोलनको अहिले आवश्यकता रहेको र शान्तिपूर्ण क्रान्ति आफुले सम्पन्न गर्न चाहेको धारणाा राखे ।
दलित समुदायको सबैभन्दा बढी ऋणी छु :
दाहालले आफू दलित समुदायको ऋणी भएको बताए । ‘दलितको साथ नभएको भए आन्दोलन सफल हुने थिएन,’ उनले भने, ‘त्यसैले अब पुनस् प्रतिगमनतिर लैजान खोज्नेविरुद्ध दलित समुदायको एकता आवश्यक पर्नेछ ।’
महाधिवेशनमा टिआर विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ बाट कलेन्द्र सैजुवाल र बृजलाल वरपासवान, देवब्रत परियार स्मृति राशि पुरस्कार मिना ढकाल, राममाया च्यामे लोक पुरस्कार २०७७ बाट विष्णु निष्ठुरी र पर्शु सवरी पत्रकारिता पुरस्कार २०७७ बाट मानसिंह विश्वकर्मा र राम सोवि सामाजिक पत्रकारिता पुरस्कारबाट प्रेम सुनारलाइ पुरस्कृत गरिएको संघका केन्द्रिय अध्यक्ष बिनोद पहाडीले बताए ।
नक्कली मयूर सिंहदरबारमा छन् ,संविधान च्यात्न खोज्ने आफैँ सकिन्छन् : बालकृष्ण खाँण
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले अहिले केही शक्तिहरूले संविधान च्यात्न खोजिरहेको आरोप लगाएका छन्।
संविधान च्यात्न खोज्ने प्रधानमन्त्री केपी शर्मा ओली आफैँ सकिने पनि उनले चेतावनी दिए। शुक्रबार बुटवलमा आयोजित राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन्।
केपी प्रधानमन्त्री भएदेखि नै अहिलेको संविधानमाथि यो वा त्यो बहानामा प्रहार गरिरहेको उनले बताए। अहिले मुलुकमा दुईधारको आन्दोलन जारी रहेको छ। संविधान भङ्ग गर्ने र रक्षा गर्नेको आन्दोलन चलिरहेको उनले बताए।
अहिलेको सरकारले भङ्ग गर्नको लागि र काङ्ग्रेससहितका अन्य दलले रक्षा गर्नुपर्ने आन्दोलनको नेतृत्व गरिरहेको नेता खाँणले बताए।
असली मयूर फाँटमा रहेको र नक्कली मयूर सिंहदरबारमा बसेर यसको नेतृत्व गरिरहेका छन्। उनले भने, कुनै हालतमा संविधान भंग हुने छैन। अझै परिष्कृत गरेर पछाडि परेका समुदाय र वर्गको हितमा बन्नेछ।
नेपालको राजनीतिमा लागेको बादल अबको केही दिनमा फाटेर जाने पनि उनले बताए। मडारिएको बादलभित्र पनि चाँदीको घेरा हुने र छिट्टै राजनीतिले सही बाटो लिने नेता खाँणले बताए।
देशको राजनीतिक धार संविधानको रक्षा गर्ने की हत्या गर्ने भन्ने तर्फ मोडिएको उनले बताउँदै संविधानको रक्षा गर्नको लागि नेपाली कांग्रेसले नै नेतृत्व गर्ने बताए । सम्मेलन चैत्र १ गतेसम्म चल्ने छ । सम्मेलनमा देशभरका ४ सय दलित समुदायका पत्रकारहरुको उपस्थिती छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)